• १४ चैत २०८२, शनिबार

लहानमा अन्तर्राष्ट्रिय स्तरको ब्लडबैंक निर्माण हुने

blog

लहानमा अन्तर्राष्ट्रिय स्तरको ब्लडबैंक सञ्चालनका लागि लहान नगरपालिका र अन्तर्राष्ट्रिय लायन्स क्लबबिच जग्गा उपलब्ध गराउने सम्झौताको कागजात नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले हस्तान्तरण गर्दै। तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, चैत १४ गते ।
लहान नगरपालिकाको सहयोगमा अन्तर्राष्ट्रिय लायन्स क्लबको लगानीमा लहानमा प्रमेश्वर–आत्माराम मुरारका नाममा अन्तर्राष्ट्रिय स्तरको ब्लडबैंक निर्माण हुने भएको छ।

यसको लागि लायन्स क्लब र लहान नगरपालिकाबीच सम्झौता भएको छ। लहान नगरपालिकाले वडा नं. १० मा निर्माण भइरहेको नगर अस्पतालसँग जोडिएको तीन कठा जग्गा उपलब्ध गराउनेछ। भवन निर्माणमा लहानका प्रतिष्ठित उद्योगपति तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा योगदान गर्ने दाता परिवारका स्वर्गीय प्रमेश्वर मुरारका र आत्माराम मुरारका दाजुभाइको नाममा ४० लाख रुपैयाँको लगानी हुनेछ भने अन्तर्राष्ट्रिय लायन्स क्लबले डेढ करोडभन्दा बढी मूल्यका उपकरण उपलब्ध गराउनेछ।

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीका अनुसार, सय किलोमिटर वरिपरि रगतको अभावका कारण बिरामीलाई उपचारमा कठिनाइ भइरहेका बेला ब्लडबैंकले ठूलो सहयोग पुर्‍याउनेछ। आवश्यक परे थप सहयोगसमेत उपलब्ध गराइने उहाँले बताउनुभयो।

दातापक्षका तर्फबाट मुरारीलाल मुरारकाले ब्लडबैंक निर्माणपछि स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुग्ने बताउनुभयाे। उहाँले थप्नुभयाे, “स्वर्गीय पिता प्रमेश्वर मुरारका र काका आत्माराम मुरारका अलहानमा प्रादेशिक अस्पताल, जेएस मुरारका बहुमुखी क्याम्पस, विज्ञान प्रयोगशाला, जिल्ला उद्योग वाणिज्य संघको स्थापना, माडवाडी सेवा सदन लगायतका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउनु भएको छ। अन्तर्राष्ट्रिय स्तरको ब्लडबैंक निर्माणपछि अन्य क्षेत्रमा समेत सहयोग जारी रहनेछ।”