बुटवल समाचारदाता
बुटवल, चैत १४ गते । बर्सौंदेखि टाउको दुखाइको विषय बनेको फोहोर व्यवस्थापनलाई बुटवलमा अब अवसरमा रूपान्तरण गर्ने प्रयास सुरु भएको छ । फोहोरलाई स्रोतमा परिणत गर्ने उद्देश्यसहित यहाँ फोहोर प्रशोधन केन्द्र स्थापना गरी प्लास्टिकजन्य फोहोरबाट इँटा उत्पादन थालिएको छ । सहकारीमार्फत समुदायलाई प्रत्यक्ष जोड्दै गरिएको यो अभ्यासले वातावरण संरक्षणसँगै रोजगारी र आम्दानीको नयाँ ढोका खोल्न थालेको छ ।
बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्थाले सञ्चालन गरेको प्रशोधन केन्द्रमा कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गरिन्छ । कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन भइरहेको छ भने प्लास्टिक, सुर्ती, गुट्खा, चाउचाउका खोल जस्ता पुनः प्रयोग गर्न नसकिने सामग्रीबाट इँटा उत्पादन सुरु गरिएको छ । सहकारीका अध्यक्ष कृष्णबहादुर कार्कीका अनुसार उत्पादन भएका प्लास्टिक इँटा सडक सौन्दर्यीकरण तथा विभिन्न निर्माण कार्यमा प्रयोग गर्न सकिने खालका छन् ।
२०७७ सालमा स्थापना भएको सहकारीमा हाल बुटवल उपमहानगरपालिका वडा नं. ७ र ८ का करिब एक हजार २०० स्थानीय बासिन्दा सेयर सदस्यका रूपमा आबद्ध छन् । ‘एक घर, एक सदस्य’ अभियान अन्तर्गत न्यूनतम एक हजारदेखि पाँच हजार रुपियाँसम्म सेयर लगानी गर्न सकिने व्यवस्था गरिएको छ ।
शिवनगर सामुदायिक वन क्षेत्रमा सञ्चालनमा रहेको प्रशोधन केन्द्रमा अहिले दैनिक करिब १५ टन फोहोर व्यवस्थापन भइरहेको छ । बुटवल उपमहानगरपालिका, शिवनगर वन उपभोक्ता समिति र सहकारीबिचको सहकार्यमा गत वर्षदेखि यो कार्य सुरु गरिएको हो । उपमहानगरपालिकाले आवश्यक संरचना निर्माण गरिदिएको छ भने युएनडिपी र कोकाकोला फाउन्डेसनले फोहोर छुट्याउने तथा प्लास्टिकबाट इँटा उत्पादन गर्ने मेसिन उपलब्ध गराएका छन् । यसअघि एसियाली विकास बैङ्कको सहयोगमा प्रस्तावित फोहोर व्यवस्थापन योजना सफल हुन नसकेपछि स्थानीय तहले नयाँ मोडेलमार्फत काम अघि बढाएको हो । प्लास्टिकका बोतल, आल्मुनियम, फलाम र रबर जस्ता सामग्री भने प्रशोधनपछि पुनः उद्योगमा बिक्री गरिँदै आएको छ ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले फोहोर व्यवस्थापनलाई लामो समयदेखिको चुनौतीका रूपमा स्वीकार गर्दै सहकारीमार्फत गरिएको यो पहल प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “फोहोर समस्या मात्र होइन, सही व्यवस्थापन गरिएमा ठुलो सम्भावना पनि हो । यसले स्थानीयस्तरमै रोजगारी सिर्जना र आम्दानी वृद्धि गर्ने आधार तयार गरेको छ ।”
हाल प्रशोधन केन्द्रमा करिब तीन दर्जन व्यक्तिले रोजगारी पाएका छन् । यो मोडेललाई सबै वडामा विस्तार गर्न सके करिब चार सय जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । बुटवलमा दैनिक करिब ७७ टन फोहोर उत्पादन हुने गरेकामा करिब १५ प्रतिशत प्लास्टिकजन्य फोहोर रहेको तथ्याङ्क छ । जसलाई उपयोगमा ल्याउने दिशामा यो प्रयास महत्वपूर्ण मानिएको छ ।
भविष्यमा शिवनगर सामुदायिक वनभित्र करिब १० बिघा जमिन व्यवस्थापन गरी प्रशोधन केन्द्रसँगै पार्क निर्माण गर्ने योजनासमेत अघि बढाइएको छ । यसले फोहोर व्यवस्थापनसँगै पर्यावरणीय पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
हाल करिब ४० लाख रुपियाँ पुँजी रहेको सहकारीको आम्दानी सेयर सदस्य, सामुदायिक वन र उपमहानगरपालिकाबिच निश्चित अनुपातमा बाँडफाँट गर्ने सहमति छ । अहिले कम्पोस्ट मल बिक्रीबाट आम्दानी भइरहेको छ भने प्लास्टिक ब्लकको व्यावसायिक उत्पादन सुरु भएसँगै आय थप बढ्ने विश्वास गरिएको छ ।
घर घरबाट फोहोर सङ्कलन गर्ने क्रममा एक दिन कुहिने र अर्को दिन नकुहिने फोहर सङ्कलन गर्ने प्रणाली अपनाइएको छ । सङ्कलित फोहोर प्रशोधन केन्द्रमा ल्याएर वर्गीकरण गरी आवश्यक प्रव्रिmया पूरा गरिन्छ ।