• ८ मंसिर २०८१, शनिबार

पहेँलीको जन्मदिन

blog

पहेँलीलाई पनि आफ्नो जन्मदिन मनाउन मन लाग्यो । हिजो छिमेकी पेमाको जन्मदिन थियो । अस्ति अनुपको । त्योभन्दा अघिल्लो दिन जुनेलीको ।  पेमा, अनुप र जुनेलीको जन्मदिनमा आमासँगै पहेँली पनि गएर मीठा–मीठा खानेकुरा खाएकी थिइन् । उनीहरू सबैको जन्मदिनमा केक काटेर मीठो–मीठो खानेकुरा बाँडिएको थियो । 

पहेँलीले पनि आफ्नो जन्मदिन भव्य गरी मनाउने निधो त गरी तर आमाबाबालाई कसरी भन्ने सङ्कट परिरहेको थियो । अरूको देखासिखी गरेर आफू अगाडि बढ्नु आफैँका लागि हानिकारक हो भन्दै पहेँलीका बाबुआमाले छोरीलाई बारम्बार सम्झाए तर पहेँली मानिनन् । जन्मदिन नजिकिँदै थियो । पेमाले खाना खानै छाडिन् ।  स्कुल पनि जान छाडिन् अन्ततः केही सीप नलागेपछि छोरीको इच्छा पु-याइदिन पहेँलीका बाबुआमाले घरमा सहरबाट मीठा–मीठा खानेकुरा मगाए । साथमा सेता र काला केक पनि मगाए । पहेँलीको घरमा उनको जन्मदिनको भव्य तयारी भयो । मीठा–मीठा खानेकुरा तयार भए । पहेँलीले झिलिमिली कपडा पहिरिन् ।

त्यस दिन पहँेलीको जन्मदिन थिएन । उनलाई रहर लागेर मात्र केक काटेर  मनाउन लागेकी थिइन् । यो कुरा उनको साथीहरू र गाउँलेहरूले पनि  थाहा पाए । पहेँलीले जन्मदिन नआइकनै केक काटेर मनाउन लागिन् भनेर साथीहरूलाई पनि रिस लाग्यो  । कोही पनि आई दिएनन् । घरपरिवार पनि दुःखी भए । पहेँलीलाई पनि निकै नराम्रो लाग्यो । उनले अब मनमनै सोचिन् । जे कुराको पनि समय हुन्छ । समयभन्दा अगाडि या पछाडि पनि 

केही गर्न हुन्न । समयमै गरेको कामको पो महत्व हुन्छ । अब साँच्चैको जन्मदिनमा बोलायो भने फेरि कोही नआउलान् । बरु आफ्नो साँचो जन्मदिनमा नै मनाउँछु । उनले विचार गरिन् । साथीसँग पनि क्षमा मागिन् । आफ्नो जिद्दीपनाका कारण आमाबाबाले पनि केक काटिदिने व्यवस्था गरिदिनुभयो । आमाबाबालाई पनि उनले क्षमा मागिन् । बल्ल उनको बुद्धी आयो । नचाहिने काममा ढिपी गर्न नहुने रहेछ । झुटो पनि बोल्न नहुने रहेछ ।