• २२ असार २०८१, शनिबार

सडक र सुरुङमार्गबाटै कर्णाली समृद्ध बन्छ : अर्थमन्त्री शर्मा

blog

सुर्खेत उद्योग वाणिज्य संघको कार्यालयमा बिहीबार अर्थमन्त्री जनार्दन शर्मालाई ‘मायाको चिनो’ प्रदान गर्दै संघका पदाधिकारी । तस्बिर : प्रकाश अधिकारी/रासस

कर्णाली, भदौ १६ गते । अर्थमन्त्री जर्नादन शर्माले सुर्खेतबाट पहाडी जिल्ला जोड्ने सडकको स्तरोन्नति र सुर्खेत–भुरीगाउँ (बर्दिया) जोड्ने सुरुङमार्ग निर्माण गर्नसके कर्णाली प्रदेश समृद्ध बन्ने बताउनुभएको छ । 

सुर्खेत उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित स्वागत कार्यक्रममा ज्ञापनपत्र बुझ्दै उहाँले विकासका लागि यातायात पूर्वाधार पहिलो शर्त भएको बताउनुभयो । अर्थमन्त्री शर्माले सङ्घीय सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सडक र सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिएको प्रष्ट पार्नुभयो । 

विगतमा सडकको विकासले गति लिन नसक्दा कर्णालीका जिल्ला विकासमा पछाडि परेको उहाँको भनाइ थियो । सङ्घले अर्थमन्त्री शर्मासमक्ष २१ बुँदे तत्कालीन, अल्पकालीन र दीर्घकालीनरुपमा पूरा गर्नुपर्ने मागपत्र पेश गरेको थियो । मागपत्रमा सुर्खेत विमास्थल विस्तार, प्रादेशिक औद्योगिक क्षेत्र निर्माण, कर्णाली करिडोर, भेरी करिडोर, कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन आयोजना निर्माणमा तीव्रता दिनुपर्ने, कोभिड–१९ ले थला परेको व्यवसायको पुनरुत्थानका लागि पुनःकर्जा नीति खुकुलो बनाइनुपर्नेलगायत विषय समावेश गरिएको छ । 

सङ्घले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह माग गरिएको सङ्कूचनको निर्णय पनि पुनर्विचार गर्न माग गरेको छ । सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले सुर्खेत विमानस्थल विस्तार नहुँदा कर्णालीको पर्यटन व्यवसायले गति लिन नसकेको र काठमाडौँ जान महँगो भाडा तिनुपर्ने बाध्यता रहेको बताउनुभयो । 

सुर्खेतको लेकबेँसी नगरपालिकाको साटाखानीमा प्रस्तावित औद्योगिक क्षेत्र स्थापनासम्बन्धी कार्य अध्ययनमै सीमित गरिएको भन्दै अध्यक्ष कँडेलले तत्काल बाँकी काम अघि बढाउन पहल गरिदिन आग्रह गर्नुभयो । 

अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको भन्दै कतिपय समस्याको प्याकेजमै सम्बोधनका लागि सरकारले गृहकार्य गरिरहेको बताउनुभयो । साथै उहाँले कर्णालीको आर्थिक विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समुचित समन्वयको खाँचो औँल्याउनुभयो । रासस