• ८ जेठ २०८१, मङ्गलबार

साँखुस्थित भगवती मावि

सामुदायिकमा पनि यस्तो आकर्षण !

blog

काठमाडौँको साँखुस्थित भगवती सामुदायिक माध्यमिक विद्यालय । सामुदायिक भएर पनि पढाइ र व्यवस्थापनमा  अब्बल । काठमाडौँ उपत्यकाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहँदा यस विद्यालयमा भने सङ्ख्या बर्सेनि बढ्दो छ, निजी विद्यालयबाट पनि यहाँ छोडेर आउन थालेका छन् । 

साँखुस्थित यस विद्यालय पुग्ने जो कोहीले पनि भन्ने पहिलो कुरा हो, सरकारी स्कुलको भवन पनि कति राम्रो । बाहिरबाट हेर्दा सुन्दर देखिएको विद्यालयभित्र पुग्दा यहाँ विद्यार्थीको सङ्ख्या राम्रो छ । विद्यालयमा व्यवस्थापन समिति, प्रशासन र शिक्षक–कर्मचारी पनि मिलेर काम गरेको देख्न सकिन्छ । 

 पढाइमा पनि पहिलो त विद्यालयले कक्षा ७ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ गर्नु नै हो भने अर्को पक्ष अभिभावक तथा स्कुलबीच शैक्षिक सुधारमा निरन्तर गरिएका प्रयास  छलफल, उचित व्यवस्थापन तथा पढाइमा सुधार नै हो ।  विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामबहादुर वाइवा भन्नुहुन्छ, “अङ्ग्रेजी माध्यममा पढाउँदा जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण रहेछ ।” उहाँ भन्नुहुन्छ, “विद्यालयमा कुशल व्यवस्थापन, नियमित शिक्षक–अभिभावक बैठक, अङ्ग्रेजी माध्यममा अध्यापनलगायतका कारणले साँखुस्थित भगवती माध्यमिक विद्यालयमा अभिभावकको विश्वास र विद्यार्थीको आकर्षण बढेको हो ।” 

धेरै सामुदायिक विद्यालयले विद्यार्थी आकर्षित गर्न विभिन्न कार्यक्रम गरिरहँदा यो विद्यालयले भने कक्षा कोठा र पूर्वाधार अभावका कारण आएका कतिपय विद्यार्थीलाई भर्ना लिन नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार वाइवा बताउनुुहुन्छ ।  

उपत्यकाका अधिकांश सामुदायिक विद्यालयमा स्थानीय विद्यार्थी नै पनि पढ्न नआउने समस्या छ । यो विद्यालयमा त्यो छैन । यहाँ टाढा–टाढाबाट धाएर, बहालमा बस्ने र स्थानीय गरी सबै किसिमका विद्यार्थी अध्ययनरत छन् । एकताका यहाँ आउने विद्यार्थी टाढा–टाढाका र अन्य ठाउँमा घर भएर यहाँ बहालमा बस्ने मात्रै रहेको अध्यक्ष वाइवाले बताउनुभयो । 

पहिले लप्सेफेदी, पालुबारी, इन्द्रायणीलगायतका ठाउँबाट यहाँ पढ्न आउँथे । अहिले ती ठाउँका विद्यार्थीसँगै स्थानीयको पनि प्राथमिकतामा यो विद्यालय छ । उहाँले भन्नुभयो, “निजीबाट निकालेर हाम्रोमा राख्ने छ ।” 

निजी विद्यालयबाट झिकेर ६ र ७ कक्षामा यहाँ ल्याउने बढी छ । धेरै अभिभावकको सामुदायिक विद्यालयमा पढाउँदा उच्च शिक्षामा सजिलो हुन्छ भन्ने धारणा पाइन्छ र सामुदायिकमध्ये यही छानेको पाइन्छ । कतिपयले भने पढाइमा निजीभन्दा कम छैन भनेर पनि यहाँ ल्याएको विद्यालयले जनाएको छ । 

एक दशक पहिले एउटा कक्षामा औसत १०/१५ जना विद्यार्थी थिए । अहिले अधिकांश कक्षामा ४० विद्यार्थी छन् । पछिल्लो केही वर्ष मेरो सन्तानलाई पनि भर्ना गरिदिनुप¥यो भनेर अभिभावक आइरहँदा पनि स्थान अभावका कारण नसकेर अरू विद्यालयमा पठाउनुपरेको अध्यक्ष वाइवाले बताउनुभयो । 

दातृ संस्थाले ४० जना विद्यार्थी मात्रै राख्न सकिने गरी टेबुल, कुर्सीको व्यवस्था गरेको छ । कक्षा कोठाको आकार ठूलो भए पनि टेबुल, कुर्सी नहुँदा नसकिएको उहाँले बताउनुभयो । विद्यालयले त्यस्तै टेबुल, कुर्सी खोजेको भए पनि नपाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मिल्दो राखेर पनि अर्काे वर्षबाट थप विद्यार्थीको भर्ना लिनुपर्छ ।” 

विद्यालयमा झट्ट हेर्दा निजी विद्यालयको भन्दा राम्रो भवन छ । बाहिरी स्वरूप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने गरी टेबुल, कुर्सी देखिन्छ । विज्ञानको प्रयोगशालामा प्रयोग गरेरै सिक्छन् । खानेपानी र शौचालयको पनि बालमैत्री रहेका छन् । अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई उत्तिकै सहभागी गराएको छ । बालबालिकाको प्रतिभा देखाउनै राम्रो हल पनि विद्यालयको विशेषता हो । 

बाहिरबाट हेर्दा सुन्दर देखिएको विद्यालयभित्र पुग्दा यहाँ विद्यार्थीको सङ्ख्या राम्रो छ । विद्यालयमा व्यवस्थापन समिति, प्रशासन र शिक्षक–कर्मचारी पनि मिलेर काम गरेको देख्न सकिन्छ । 

बसपार्कबाट नजिकै रहेको विद्यालय तीन महिना पहिले मात्र हस्तान्तरण भएको हो । अहिले यहाँ झन्डै छ सय  हाराहारीमा विद्यार्थी रहेको अध्यक्ष वाइवाले बताउनुभयो । एक दशक पहिलेसम्म एक सय हाराहारीमा विद्यार्थी र लथालिङ्ग विद्यालय अहिले सबै मिलेर व्यवस्थित बनाएको पाइन्छ । पहिले सरकारी विद्यालयजस्तै शिक्षकले ध्यान नदिएको र व्यवस्थापन र प्रशासनले कडा गर्न नसकेको अध्यक्ष वाइवाले बताउनुभयो । 

प्रशासनलाई कडा बनाएर शिक्षकले मेहनत गरेपछि अहिलेको अवस्थामा  आइपुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पटक–पटक बैठक बसेर कसरी शिक्षक पढाउन मन दिन्छन् भनेर छलफल गरी योजना बनाइएको थियो ।” 

पहिले अभिभावकमा विद्यालयमा गएपछि विद्यार्थी आफैँ पढ्छन् भन्ने भावना रहेको अध्यक्ष वाइवाले बताउनुभयो । अहिले अभिभावकसँग विद्यालयमा बोलाएरै उहाँहरूका सन्तानका बारेमा छलफल गरिँदै आएको छ । घरमा पढ्छ पढ्दैन भनेर खासगरी परीक्षा आउनु पहिले र  नतिजाको समयमा छलफल गर्ने गरिएको छ । 

अभिभावकले मेरो बच्चा कस्तो पढ्दैछ नबुझेसम्म बच्चाले नपढ्ने हुँदा शिक्षक अभिभावक छलफल नियमित गरिएको उहाँले बताउनुभयो । शिक्षकले सबैलाई एउटै तरिकाले पढाउने र अभिभावकले ध्यान दिँदा मात्रै विद्यार्थीले ध्यान दिने उहाँले बताउनुभयो ।  

विद्यालयले हाल कक्षा ७ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइरहेको छ । अङ्ग्रेजी माध्यममा पढाउँदा जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको अध्यक्ष वाइवाले बताउनुभयो । सरकारी पुराना शिक्षकलाई जति तालिम दिए पनि गर्न गाह्रो रहेकाले निजी स्रोतबाट राखिएको उहाँले बताउनुभयो । 

विद्यालयमा स्थायी शिक्षक/कर्मचारी मात्रै पर्याप्त नहुँदा आन्तरिक स्रोतबाट राखिँदै आइएको विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठले बताउनुभयो । विद्यालयले विद्यार्थीबाट सहयोग शुल्क स्वरूप वर्षमा एक सय रुपियाँ लिने गरेको छ । सबै किसिमका शुल्क गरी १० कक्षामा एक वर्षमा झन्डै एक हजार पाँच सय खर्च हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा ११ र १२ मा विद्यार्थीबाट लिइएको शुल्कबाट शिक्षकलाई तलब दिइने गरिएको छ भने तल्लो कक्षामा यहाँका विद्यार्थीलाई न्यून तलबमा राखिएको छ ।” 

विद्यालयमा हाल छात्रा ६० प्रतिशत र छात्र ४० प्रतिशत हाराहारीमा छ । हाल रहेको भवनको निर्माण वि.सं. २०७४ मा सुरु भएको थियो । सो भवन डेढ वर्षमा सक्नुपर्ने भए पनि कोरोनाका कारण लम्बिएको थियो । पहिले एक तलाको भवन रहेकामा भूकम्पको समयमा चर्किएपछि अस्थायी भवनमा पढाइएको थियो । उहाँले भन्नुभयो, “पाँच वर्ष पछि मात्रै हामी यहाँ सर्न पाएका छौँ ।” 

पहिले विद्यालयको सबै कामका लागि जिल्लास्थित शिक्षा कार्यालय जानुपर्नेमा संविधानले माध्यमिक तहको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएपछि अधिकांश काम नगरपालिकाबाट हुने गरेको छ । नगरपालिका जाँदा नजिकै र सम्पर्क गर्न सजिलो भए पनि अरू किसिमका झन्झट भइरहेको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । 

स्थानीय तहबाट तलब पठाउन गाह्रो र नपुग्ने गरी पठाउने र ढिला गर्ने समस्या रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले धेरै काममा बढी सोधखोज र चाँडो हुने काम ढिलाइ भइरहेको छ ।” 

जिल्ला शिक्षा कार्यालयमा कर्मचारी मात्रै हुँदा सबैलाई एकै किसिमको व्यवहार भए पनि अहिले राजनीतिक व्यक्ति हुँदा विभिन्न किसिमका समस्या आउने गरेको अध्यक्ष वाइवाले बताउनुभयो । कहिलेकहीँ जनप्रतिनिधि र कर्मचारी नमिलेको हुन सक्ने र आज हुनुपर्ने काम तीन महिना पछि हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधि राजनीतिक पृष्ठभूमिको हुँदा पूर्वाग्रह कतै नजिक र टाढा हुने सम्भावना हुन्छ ।” 

विद्यालयको व्यवस्थापन र कर्मचारी दुवैले यहाँको विद्यार्थी देश र विदेशमा लड्न सक्ने होस् भनी लागिएको अध्यक्ष वाइवाले बताउनुभयो । सरकारको नीतिअनुसार चल्नुपर्दा  आफूले चाहेर पनि विद्यालय सुधारका लागि झट्ट केही गर्न नमिल्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग आर्थिक स्रोत नहुँदा कतिपय कुरा चाहेर पनि झट्ट कार्यान्वयन गर्न नसकिने अवस्था छ ।”

यहाँको पूर्वाधार बनिसकेकाले अबको ध्यान विद्यालयको शैक्षिक अवस्था सुधारमा नै छ । कोरोनापछि पढाइका लागि र समय पर्याप्त हुँदा धेरै बालबालिकाको हातमा जुनसुकै समयमा मोबाइल हुँदा पढाइमा असर पर्न थालेको छ । उहाँले भन्नुभयो, “पहिले  अनलाइन कक्षा पढेका विद्यार्थीलाई अहिले मोबाइल चलाउन  लत बस्यो ।”