• ११ मंसिर २०८१, मङ्गलबार

जबराले सीमा बाहिर गएर अभिव्यक्ति दिनुभयो : मीन विश्वकर्मा

blog

जवाफ दिनुहुँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा । तस्बिर : सुजन गुरुङ

काठमाडौं, भदौ १५ गते । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले महाभियोगको प्रतिरक्षाका लागि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताउनुभएको छ। 

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नो प्रतिरक्षाका लागि सीमाभन्दा बाहिर गएर भनाइ राखेको उहाँको आरोप छ। उहाँले प्रधानन्यायाधीश जबराले अभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको भन्दै आपत्ति जनाउनुभएको हो। 

सचेतक विश्वकर्माले महाभियोग प्रस्तावको प्रतिरक्षा गर्ने क्रममा भनिएका सबै कुरालाई समितिले सामान्य रूपमा लिएको बताउनुभयो। उहाँले प्रधानन्यायाधीश जबराले राजनीतिक रूपले नियुक्त भएका न्यायाधीशका कारणले गर्दा आफूले एकमतले निर्णय गर्न नसकेको उल्लेख गर्नुभएको छ।

सचेतक विश्वकर्माले महाभियोगको बारे पूर्वनिर्धारित कार्यतालिका परिवर्तन हुनसक्ने बताउनु भयो। उहाँले संसद्, आगामी निर्वाचनलाई मिलाउँदै जाँदा कार्यतालिका फेरबदल हुनसक्ने तर तोकिएको ३ महिनाको समय सीमाभित्रै महाभियोगको छिनोफानो हुने बताउनुभयो। उहाँले प्राप्त कागजातहरूको अध्ययनका लागि समितिलाई केही समय अझै लाग्ने बताउनुभयो। उहाँले प्रधानन्यायाधीश जबराले आज व्यक्त गर्नुभएका रायका आधारमा सर्वसम्मत निष्कर्षमा पुग्ने दाबी गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘हाम्रो कार्यतालिका परिमार्जन गर्ने कि भन्ने कुरा भइरहेको छ। हामी तीन महिनाभित्र सक्छौँ। प्राप्त कागजातको अध्ययनका लागि हामीलाई समय लाग्छ। आज व्यक्त रायका अनुसार हामी सर्वसम्मत टुङ्गो र निष्कर्षमा पुग्छौँ।’