• २८ चैत २०८२, शनिबार

गाउँ पर्यटन प्रवर्द्धनमा योगदान : पत्रकार ढुंगाना सम्मानित

blog

काठमाडौँ, चैत २८ गते । गाउँ पर्यटन प्रवर्द्धनमा पत्रकारितामार्फत उल्लेखनीय भूमिका निर्वाह गर्नुभएकी पत्रकार राधा ढुंगाना ‘डा. सुरेन्द्रभक्त प्रधानाङ्ग पर्यटन पुरस्कार–२०८२’ बाट सम्मानित हुनुभएको छ । 

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) को २७औँ वार्षिक साधारण सभा तथा १३औँ अधिवेशनका अवसरमा उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो ।

भिटोफकी निवर्तमान अध्यक्ष शकुन्तला देवकोटाका अनुसार ग्रामीण तथा घरबास (होमस्टे) पर्यटनलाई राष्ट्रिय बहसको विषय बनाउन सञ्चारमाध्यममार्फत निरन्तर योगदान पुर्‍याएबापत ढुंगानालाई सम्मान गरिएको हो । 

गाउँ पर्यटनका अग्रणी अभियन्ता डा. सुरेन्द्रभक्त प्रधानाङ्गको नाममा स्थापना गरिएको उक्त पुरस्कार हरेक दुई वर्षमा यस क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ । यस वर्ष पत्रकार ढुंगानाले नगद २५ हजार रुपैयाँसहित कदरपत्र प्राप्त गर्नुभएको छ । 

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा डा. प्रधानाङ्ग स्वयंले उहाँलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । डेढ दशकदेखि पत्रकारितामा सक्रिय ढुंगानाले सोलुखुम्बुको हिमाल एफ.एम. बाट आफ्नो सञ्चार यात्रा सुरु गर्नुभएको हो । 

त्यसपछि नागरिक राष्ट्रिय दैनिक, रेडियो नागरिक, इमेज एफ.एम., उज्यालो रेडियो नेटवर्क, खबरहब र योहो टेलिभिजनलगायतका सञ्चारमाध्यममा कार्यरत रहँदै उहाँले पर्यटनसम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउँदै आउनुभएको छ । हाल उहाँ आलोक मिडियामार्फत ह्वाइट खबर डटकमसँग आबद्ध हुनुका साथै रेडियो नेपालबाट प्रसारण हुने ‘देश दर्शन’ कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।