• ७ जेठ २०८१, सोमबार

बौद्ध तान्त्रिक विधिसहित १०८ कुमारीकाे पूजा

blog

काठमाडौँ, भदौ १४ गते । वसन्तपुर डबलीमा सोमबार सामूहिक कुमारी पूजाको आयोजना गरिएको छ । श्रीश्रीश्री कुमारी भवानी १०८ कन्यापूजा सेवा समिति भक्तजन परिवारद्वारा आयोजित सामूहिक कन्या पूजा समारोहमा एक सय आठ जना कन्या र दुई जना कुमारको सहभागिता रहेको थियो । 

समितिका अध्यक्ष दुर्गा शाक्यले वि.सं. २०६४ देखि हरेक वर्ष भदौ महिनाको द्वितीय तिथि पारेर समितिले एक सय आठ कन्याको सामूहिक पूजा आयोजना गर्दै आएको जानकारी दिनुभयो । उहाँले नेवार समुदायमा बौद्ध तान्त्रिक विधिसहित कुमारी पूजा गर्नाले सुखशान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको बताउनुभयो । 

नेपालमा जीवित देवी कुमारीलाई राष्ट्ररक्षकका रूपमा मान्ने परम्परा रहेको छ । यसैगरी कुमारी पूजा साना नानीहरूको सम्मान दिन पुजिने चलन पनि हो । 

कोरोनाका कारण वि.सं. २०७६ र ७७ मा भने सामूहिक पूजा हुन सकेको थिएन । समितिले आगामी वर्षहरूमा कन्या पुजिने यस परम्पराले निरन्तरता पाउने जनाएको छ ।  

नेवारी समाजमा बेल विवाह नगरिएका र अन्य समुदायका रजस्वला नभएका कन्यालाई शुभको प्रतीक मानी कन्या पूजा गरिँदै आएको समितिले जनाएको छ । कन्याहरूलाई पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफूल, पैसा, बिस्कुटलगायतका सामान दान दक्षिणा र भोजन गराई पुजिने गरिन्छ ।

सामूहिक कन्या पूजामा २० महिनाकी मुखु डङ्गोलको पूजाका लागि सहभागी सजन डङ्गोलले कन्या पूजामा आफ्नी छोरीसहित सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो ।