• १० मंसिर २०८१, सोमबार

विप्रेषण निर्भरताको प्रभाव

blog

आफू जन्मिएको भूगोल छाडेर अरू देशमा गई काम गर्नुपर्ने बाध्यता संसारभर छ/। खासगरी औद्योगिक क्रान्तिपछि परम्परागत कृषिमा निर्भर जनशक्ति बिस्तारै उद्योगधन्दातिर लाग्न थाल्यो। औद्योगिक गतिविधि विस्तारले बैङ्क, वित्त, यातायात, सञ्चार, होटल, पर्यटनजस्ता अनेकौँ अर्थतन्त्रका आयाम विस्तार हुन थाले। यसले श्रमिकलाई काम खोज्नका लागि विकल्प देखिन थाल्यो र राम्रो कामका लागि संसारभर भौँतारिनुपर्ने अवस्था आयो। यो क्रम निरन्तर बढ्दै गयो। संसारमा विदेशमा काम गरेर परिवारका हेरचाहका लागि साधन जुटाउने करोडौँ श्रमिक छन्। विदेशमा काम गरेर आर्जन गरेको रकम आफ्नो देश तथा परिवारमा पठाउने साधन अर्थतन्त्रकै मूल पाटो भयो। यसलाई विप्रेषण अर्थात् रेमिट्यान्सका रूपमा लिन थालियो। विश्वभर नै विप्रेषणका आप्रवाह बढ्दो क्रममा छ। नेपाल विगत दुई दशकदेखि विप्रेषणमा बढी निर्भर हुँदै गएको छ। यसको असर समयमै विश्लेषण गरी विकल्प खोजी गरिएन भने अर्थतन्त्र मात्र होइन, मुलुकको आर्थिक विकासमै अझ प्रतिकूल प्रभाव पर्न सक्नेछ।

नेपालको अर्थतन्त्रमा विप्रेषणका निर्भरता निरन्तर 

बढ्दो क्रममा भएको देख्न सकिन्छ। आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह दस खर्ब सात अर्ब ३१ करोड रुपियाँ रहेको छ। यो गत आर्थिक वर्षको आँकडा हो। नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा चार दशमलव आठ प्रतिशतले मात्र विप्रेषणमा वृद्धि भएको हो। त्यस अघिल्लो वर्ष विप्रेषण आप्रवाह नौ दशमलव आठ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा त गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह दुई दशमलव दुई प्रतिशतले वृद्धि भई आठ अर्ब ३३ करोड अमेरिकी डलर मात्र पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह आठ दशमलव दुई प्रतिशतले बढेको थियो। विगत दस वर्षमा नेपालको विप्रेषण कम्तीमा पनि वार्षिक छ प्रतिशतले बढ्दै आएको हो। बढीमा वार्षिक विप्रेषण नौ–दस प्रतिशतसम्म बढेको छ। कुल गार्हस्थ्य उत्पादनमा ३० प्रतिशत हाराहारीको योगदान रहेको विप्रेषणले कृषि क्षेत्रलाई उछिनेको छ। यो तत्काल हेर्दा राम्रो देखिए पनि अर्थतन्त्रको दीर्घकालीन स्वास्थ्यका लागि गम्भीर हो।

विप्रेषण आप्रवाहमा कमी भएसँगै नेपाली अर्थतन्त्रमा गत वर्षको अन्तिमतिरबाटै प्रतिकूल असर पर्न थालिसकेको छ। विदेशी मुद्रा सञ्चितिमा दबाब सिर्जना भएको छ। सरकारले बढी आयात हुने दसवटा वस्तुका निम्ति यताका तीन–चार महिनादेखि बन्देज लगाउनु परेको छ। त्यसले केही सुधारको सङ्केत देखिए पनि यो तत्कालीन असर मात्र हो। आयात रोकेर अरू प्रभाव देखिन सक्छ। राजस्वमा केही प्रभाव परेको त साउन महिनाका राजस्व उठ्तीमा आएको कमीबाटै स्पष्ट भएको छ। मूल कुरा त यो दस खर्ब रुपियाँ देश भित्रियो भनेर हामी खुसी हुन्छौँ तर यो पैसा कहाँ गयो भनेर हेरियो भने अर्कै चित्र देखा पर्छ। गत आर्थिक वर्षमा कुल वस्तु आयात १९ खर्ब २० अर्ब रुपियाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा २४.७ प्रतिशतले वृद्धि भएको छ। विदेशी मालसामान किन्नका लागि विदेशी मुद्रा चाहिन्छ। हाम्रो निर्यात भने यो अवधिमा दुई खर्ब तीन करोड मात्र छ।

विदेशमा निर्यात गरेर हामीले पनि विदेशी मुद्रा नै पाउने हो। आयातको तुलनामा निर्यात असाध्यै न्यून छ। निर्यात गरेको पैसाले आयात गर्दा १७ खर्ब रुपियाँ हाराहारी पुग्दैन। हाम्रो देशको सङ्घीय बजेट १७ खर्ब हाराहारीको छ। चालू आर्थिक वर्षको बजेट गत जेठ १५ गते नै ल्याइएको हो। सो बजेटभन्दा पनि गत आर्थिक वर्षमा देशले आयात गरेको आकार ठूलो छ। विदेशी वस्तु खरिद गर्न विदेशी मुद्रा नै चाहिन्छ। हाम्रा युवाले विदेशमा गएर दुःखकष्ट गरेर कमाएको धन विदेशी वस्तु आयातकै निम्ति खर्च भएको छ। निर्यात र विप्रेषणले पनि आयातलाई पुग्ने खर्च धान्न कठिन भएको छ। पर्यटनलगायत अन्य क्षेत्रबाट आएको विदेशी मुद्रा पनि आयातकै निम्ति खर्च गर्नु परेको छ। त्यसैले विदेशी मुद्रा सञ्चितिमा निरन्तर परेको दबाबकै कारण सरकारले दस बढी आयात हुने वस्तुमा अहिले रोक लगाएको छ। त्यसले आयातमा केही कमी भए पनि यो दीर्घकालीन उपाय भने होइन। 

कोरोना महामारीका कारण विश्वभर नै आप्रवासी कामदारका लागि यताका दुई/तीन वर्ष कष्टकर हुँदै गएको छ। कोरोनाकालमा विदेश जाने प्रवृत्तिमा केही कमी आएको भए पनि फेरि बढ्न थालेको छ। गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्यामा व्यापक वृद्धि भएको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा यसरी स्वीकृति लिनेको सङ्ख्यामा तीन लाख ५४ हजार ६६० पुगेको छ। अघिल्लो वर्षभन्दा यो सङ्ख्या झन्डै दुई सय प्रतिशतले वृद्धि हो। त्यस अघिल्लो वर्ष ६२.८ प्रतिशतले घटेको सङ्ख्यामा आएको वृद्धिले के देखाउँछ भने विदेश जाने प्रवृत्ति फेरि बढेको छ र आउने विप्रेषण भने सोही अनुपातमा बढेको छैन। यो गम्भीर प्रवृत्ति देखिएको छ।

कुनै पनि मुलुकका आर्थिक तथा सामाजिक विकासमा विप्रेषणको योगदान नै नहुने त होइन तर आर्थिक विकासमा दीर्घकालीन कस्तो असर पर्छ भन्ने कुराका उदाहरणका लागि मलेसिया र फिलिपिन्सको उदाहरण लिने गरिन्छ। सन् १९६० ताका फिलिपिन्स दक्षिण–पूर्वी एसियाको धनी मुलुक थियो। चिकित्सक अब्बल उत्पादन गर्ने देश थियो। अमेरिकी प्रभाावको शिक्षाले सबैलाई आकर्षित गरेको थियो। भियतनाम युद्धको ठूलो प्रभाव दक्षिण–पूर्वी एसियाली देशमा पर्न थाल्यो। सोही बेला थाइल्यान्डमा व्यापक पूर्वाधार विकास भयो। खासगरी ठूला विमानस्थल, होटल, रिसोर्टको विकास भयो। सोही क्रममा अमेरिकाले फिलिपिन्समा सैनिक अखडा राख्यो। फिलिपिन्सका नागरिकका लागि अमेरिका जान सजिलो हुन थाल्यो। कतिपय युवती अमेरिकी सेनासँग प्रेममा परे। विवाह गरे। युरोप र अमेरिका जान फिलिपिन्सका नागरिकलाई सहज भयो। यो सहजताको फाइदा प्रशासनमा बस्ने उच्च र दक्ष प्रशासक, चिकित्सक, इन्जिनियर, नर्स आदिले लिन थाले। 

युरोप र अमेरिका गएर काम गर्न थालेपछि उनीहरूको आयमा चामत्कारिक वृद्धि भयो। देशभित्र विदेशमा गएर काम गरेका जनशक्तिको पैसा आउन थाल्यो। झनै बिदेसिने प्रवृत्ति बढ्यो। अब्बल जनशक्ति बाहिरै जान खोज्यो। गए पनि र बिस्तारै बाहिरबाट आउने पैसा भने सोही अनुपातमा बढ्न सकेन। बाहिर गएकाहरू उतै बस्न थाले। परिवारका सदस्य उतै लैजान थाले। फिलिपिन्समा भएको सम्पत्ति बेचेर उतै लैजान थाल्दा बिस्तारै फिलिपिन्सको धन बाहिरियो। राम्रो जनशक्ति त बाहिरिएको नै थियो। त्यसको प्रत्यक्ष प्रतिकूल असर देशको आर्थिक तथा सामाजिक विकासमा पर्न थाल्यो। सोही अवधिमा मलेसियामा भने महाथिर मोहम्मदको उदय भयो र त्यसले रोचक विकास कथा नै बनायो।

महाथिरले गरिब मलेसियामा विदेशी लगानी आकर्षित गर्न थाले। त्यसका लागि जमिन, पूर्वाधार आदिमा ध्यान दिन थाले। विदेशी लगानी आएपछि देशका मानिसले काम पाउनुपर्ने सर्त थिए, काम पाउन थाले। पुँजी लगानीसँगै प्रविधि पनि आउन थाल्यो। देशभित्रै रोजगारी बढ्न थाल्यो। मुनाफा कमाएर विदेशीले लैजान थाले। महाथिरले त्यस्तो लगानी फेरि मलेसियामै गरे अरू सुविधा दिने बन्दोवस्त मिलाए। विदेशी लगानीकर्ताले त्यहाँ पाएको सुविधाले लगानीका लागि झनै आकर्षण बढाए। प्राकृतिक साधनको प्रयोगले देश औद्योगिक रूपमा उदायो। केही वर्षअघि फिलिपिन्सको गल्लीमा भौँतारिनुपर्ने अवस्थाको अन्त्य भयो। फिलिपिनोहरू अहिले मलेसियाको गल्लीमा भौँतारिन्छन्। चार दशकमा फिलिपिन्सको ओरालो यात्रा र मलेसियाको उदयका जड कुरा विप्रेषणसमेत हो। विदेशप्रतिको आकर्षण हो। नेपाल कुन बाटोमा छ ? नीति निर्माणमा बस्नेले हेरौँ। गम्भीर बनौँ। 

नेपालबाट बर्सेनि मलेसिया र खाडी मुलुकमा जाने युवाको विप्रेषण आइरहेको छ। अमेरिका, क्यानडा र अस्ट्रेलियाजस्ता देशमा गइरहेका युवाले अध्ययनका नाममा ठूलो धन लगेका छन्। तिनीहरूबाट देश भित्रिने विप्रेषणमा ठूलो योगदान छैन र अझ कम हुँदै जानेछ। यताको सम्पत्ति बेचेर उतै जाने प्रवृत्ति बढ्दो छ। खाडी, मलेसिया, कोरियाबाट आउने विप्रेषण सधैँ नेपाली अर्थतन्त्रको दिगो माध्यम बन्न सक्दैन। देशभित्रै उत्पादन बढाउन नीति, योजना र कार्यक्रम अब जरुरी छ। श्रम बेचेर आएको पैसाले फेरि विदेशी वस्तु तथा सेवा खरिद गरी अर्थतन्त्र चलाउने अहिलेको प्रवृत्तिमा आमूल परिवर्तन गर्नुपर्छ। आगामी सङ्घीय निर्वाचनमा यो मुद्दाले विश्वासिलो प्रभाव जमाउनुपर्छ। अघिल्लो निर्वाचन पाँच वर्षपछि कामकै लागि युवा विदेशिनुपर्ने छैन भन्ने तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको वाचा हात्ती आयो फुस्सा भएको कुरासमेत यहाँ बिर्सन मिल्दैन।