• १० पुस २०८१, बुधबार

समावेशी अधिकार निश्चित समयसम्मका लागि हो : मन्त्री भुसाल

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ऊर्जामन्त्री पम्फा भुसाल । तस्बिर : रासस

काठमाडौं, भदौ ८ गते। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेखित समावेशितासम्बन्धी अधिकार निश्चित समयसम्मका लागि भएको बताउनुभएको छ। 

अखिल (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागद्वारा बुधबार आयोजित तीज विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “महिलाले पाएको अधिकार निश्चित समयसम्म क्षमता अभिवृद्धिका लागि हो, त्यसपछि क्षमताअनुसार नै काम र सुविधा पाइन्छ।”

जनआन्दोलन र जनयुद्धको संयुक्त प्रयासबाट समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै मन्त्री भुसालले संविधानमा समेटिएका निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था लागू गर्नेसहितका मौलिक अधिकार संस्थागत लैजानुपर्नेमा जोड दिनुभयो। 

उहाँले समाज परिवर्तन भएअनुसार तीज मनाउने तरिकामा परिवर्तन आएको उल्लेख गर्दै तीजलाई अलौकिकभन्दा पनि भौतिकवादी रूपमा वैज्ञानिक तवरले मनाउन आम महिलालाई अपिल गर्नुभयो।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य ओनसरी घर्ती मगरले तीजमार्फत् अधिकारका लागि जनचेतना विस्तार गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “कम्युनिष्टहरू भौतिकवाद र विज्ञानमा विश्वास गर्छन्, उनीहरूले तीजलाई समाज रूपान्तरणका लागि चेतना विस्तार गर्ने पर्वका रूपमा मनाउनुपर्छ।” 

अखिल (क्रन्तिकारी)का अध्यक्ष पञ्चा सिंहले आम महिलाले तीज पर्वलाई परिवर्तन र विद्रोहका रूपमा लिनुपर्ने बताउँदै अधिकार सुनिश्चित गर्नका लागि महिलाले निरन्तर सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो। 

यसैबीच नेपाल राष्ट्रिय कर्मचारी महासङघ, महिला विभागले बुधबार यहाँ तीज विशेष कार्यक्रमम आयोजना गरेको छ। सो कार्यक्रममा विभिन्न कार्यालयमा कार्यरत महिला कर्मचारीले तीज मनाएका छन्। रासस