• ८ जेठ २०८१, मङ्गलबार

ज्ञानवर्द्धक

सबैभन्दा सानो चरा बी हमिङ्बर्ड

blog

 अञ्जली रम्तेल 

संसारको सबैभन्दा सानो चराको नाम हो बी हमिङ्बर्ड । हमिङ्बर्ड करिब ३०० प्रजातिका रहेका छन् । यो चरा अमेरिकाको जलवायु क्षेत्रमा बसोबास गर्दछन् । यीमध्ये सबैभन्दा सानो प्रजाति नै बी हमिङ्बर्ड हो । यसको साइज जम्मा २.२५ इन्च मात्र हुन्छ भने तौल पनि दुई ग्राम मात्र हुन्छ । अरू प्रजातिका हमिङ्बर्ड चारदेखि पाँच इन्चका हुन्छन् । सबैभन्दा ठूलो हमिङ्बर्डको तौल २० ग्राम हुन्छ । यिनीहरूको आकार रङ फरक–फरक हुन्छ । 

यो चराको चुच्चो निकै लामो हुन्छ । सानो आकारको भए पनि यो चरा निकै ऊर्जावान् र साहसी हुन्छ । आफ्नो गुँडमा आक्रमण गर्न आएमा यसले आफ्ना शत्रुहरूलाई चुच्चोले आक्रमण गर्ने गर्छ । सर्प तथा ठूला आकारका चरासँग समेत यसले आफ्नो चुच्चोले नाक तथा आँखामा निशाना बनाएर आक्रमण गरेर आफ्नो गुँड जोगाउँछ । आफ्नो आकारजस्तै गुँडको आकार पनि निकै सानो कचौराजस्तो हुने गर्छ । यसले आफ्नो गुँड झाडी तथा रुखमा बनाउँछ । यसको अन्डा मटरको दाना जत्रो मात्र हुन्छ । 

यसको जिब्रोमा स–साना रौं हुन्छन् जसको कारण फूलको रस चुसेर खान सजिलो हुन्छ । यो चराको सुँघ्ने क्षमता अत्यन्त कमजोर हुन्छ तर यसले फूलको रङ देखेर फूलको रस खाने गर्दछ । यो चरालाई रातो रङको फूल धेरै मन पर्छ । एकै दिनमा यो चरा करिब एक हजार फूलको नजिक जाने गर्छ । यो चराको स्मरणशक्ति ज्यादै हुने गर्छ । एक पटक चुसेको फूललाई यसले बिर्संदैन ।


यो चराको खुट्टा कमजोर हुने भएकाले यो सजिलैसँग हिँड्न सक्दैन । जसको कारण यसले आफ्नो धेरै समय उडेरै बिताउँछ । यो चरा फूलको रस र साना कीरा फट्याङ्ग्रा खाएर आफ्नो पेट भर्ने यो पन्छी हरेक १० देखि १५ मिनेटमा भोजन गरिरहन्छ । जसका कारण खानाबाट उसलाई शक्ति प्राप्त हुन्छ र धेरै समय उडिरहन सजिलो हुन्छ । उडेको बेला यसको रफ्तार ७० किलोमिटर प्रतिघन्टा हुन्छ । 

अत्यन्त तीव्र गतिमा उड्ने यो चरा एक सेकेन्डमा ८० देखि १०० पटकसम्म पखेटा फटफटाउँछ । जुन कुरा हामीले नाङ्गो आँखाले सिधा हेर्दा देख्न सक्दैनौँ । यो चराको अरू कुनै प्रजातिले त एक सेकेन्डमा २०० पटकसम्म पखेटा फटफटाउँछन् । पखेटा फटफटाउँदा यसको आवाज हमिङ् आउने भएकाले यसलाई हमिङ्बर्ड नाम दिइएको हो । 

यो पन्छी हेलिकप्टरजस्तै अगाडि पछाडि दायाँबायाँ जस्तोसुकै तरिकाले पनि उड्न सक्छ । यति मात्र हैन हावामा स्थिर अवस्थामा समेत यो रहन सक्छ । यो चराबाहेक अरू कुनै चरा पनि यस प्रकारले हावामा उड्न सक्दैन । एक मिनेट समयमा यो चराको मुटु १२०० पटक धड्किन्छ । यो चराको जीवनकाल करिब चारदेखि पाँच वर्षको हुन्छ ।