• २६ वैशाख २०८२, शुक्रबार

परमाणु बम सहेको बिकिनी एटोल

blog

प्याट्रिक जे किगर 

सन् १९४६ र १९५८ बीचमा अमेरिकाले प्रशान्त महासागरमा अवस्थित बिकिनी एटोल द्वीप समूहमा परीक्षणार्थ २३ वटा परमाणु हतियार विस्फोट गरेको थियो।  द्वितीय विश्वयुद्धमा पूर्णविराम लगाउने गरी जापानी सहरहरू हिरोसिमा र नागासाकीमा सन् १९४५ अगस्तमा परमाणु बमहरू विस्फोट गराएको मात्र केही महिनामै अमेरिकी सेनाका उच्च अधिकारीहरू थप परमाणु हतियार परीक्षण गर्ने योजना बनाउन थालेका थिए। उनीहरूले विस्फोटका लागि चयन गरेको पहिलो स्थान निकै दुर्गम थियो, सकभर थोरै अमेरिकीले त्यस स्थानको जानकारी राख्दथे । 

प्रशान्त महासागरको मध्य क्षेत्रमा मार्सल आइल्यान्ड्सअन्तर्गत पर्ने बिकिनी एटोल चयनमा परेको थियो। कोरल द्वीपहरू भएको बिकिनी एटोल सानो र रिङ आकारको छ। यसको कुल जमिनको भाग मात्र दुई वर्गमाइल छ। नेच्युरल रिर्सोसेस डिफेन्स काउन्सिलको रिपोर्टमा उल्लेख भएअनुसार बिकिनी एटोलमा सेनाको सबै मापदण्ड मिल्दथ्यो । यो अमेरिकाको नियन्त्रणमा थियो तथा पानीजहाज पारवहन मार्गभन्दा धेरै नै टाढा पर्दथ्यो । साथै अमेरिकी बमवर्षक जहाजले उडान भर्न सक्ने शिविरबाट हजार माइल परिधिमा बिकिनी एटोल पर्ने भएकाले यो सेनाको रोजाइमा प¥यो । 

बिकिनी एटोलको रिङले बनेको लगुन स्वयंले जलसेनाका जहाजलाई सुरक्षासमेत दिन सक्थ्यो। बिकिनी एटोलमा थोरै मानिस बसोबास गर्दथे र ती सबै एक सय ६७ जनालाई सैनिकले अन्यत्र बसोबासको व्यवस्था मिलाउन सक्दथे। 

सन् १९४६, फेब्रुअरीमा मार्सल आइल्यान्ड्सका सैन्य प्रमुख कमोडोर बेन एच वायट बिकिन एटोल गए र उनले त्यहाँका बासिन्दाको सभालाई कम्तीमा पनि अस्थायी समयका लागि द्वीपबाट जान भने। सन् २००१ मा प्रकाशित ज्याक निडेनथलको बिकिनी एटोलको इतिहास बारेको पुस्तक ‘फर दि गुड अफ म्यानकाइन्ड’ मा उल्लेख गरिएअनुसार वायटले भविष्यमा युद्ध रोक्नका लागि यो परीक्षण अपरिहार्य भएको कुरा त्यहाँका बासिन्दासँग गरेका थिए। 


स्थानीय बासिन्दा उनको कुरा सुनेर दुःखी र भ्रमित भए। अन्त्यमा उनीहरूका सरदार किङ जुडाले उभिएर भने छन्, “सबै कुरा ईश्वरको हातमा रहेको विश्वास गर्दै हामी यहाँबाट जाने छौँ।”

चाँडै नै सानो द्वीप समूह पृथ्वीको एक लोकप्रिय स्थान बन्नेवाला थियो। यतिसम्म कि एक फ्रान्सेली डिजाइनरले यसको नामबाट एक स्वीमिङ सुटको नामकरण समेत गरे। सन् १९४६ र १९५८ बीचमा अमेरिकाले बिकिनी एटोलमा २३ वटा परमाणु हतियार विस्फोट गर्‍यो, जसमा २० त हाइड्रोजन बम नै थिए। तीमध्ये सन् १९५४ मार्च १ मा गरिएको क्यासल ब्राभो एच–बम टेस्ट त सन् १९४५ मा नागासाकीमा विस्फोट गराइएको परमाणु बमको दाँजोमा हजार गुणा बढी शक्तिशाली थियो।

  • बिकिनी एटोलमा खसालिएको पहिलो परमाणु बमले लक्ष्य भेटेन।

जलसेनाका जहाजमा परमाणु विस्फोटको प्रभाव जान्नका लागि बिकिनी एटोलमा अपरेसन क्रसरोड सञ्चालन गरियो। सन् १९४६ जुलाई १ मा बम ‘टेस्ट एबल’ जडान गरियो। त्यसले लक्ष्य बनाउनुपर्ने ९५ जहाजलाई बिकिनी एटोलको लगुनमा राखिएको थियो। ती जहाजमा प्रयोगशाला परीक्षणका लागि मुसा, सुँगुर, बाख्रा राखिएका थिए। त्यस अतिरिक्त बिकिनी एटोलबाट साढे १८ किलोमिटरको दूरीमा थप एक सय ५० जहाज तैनाथ गरिएको थियो।  

बिहान ९ बजे बी–२९ बमवर्षकले लगुनमाथि उडान भर्‍यो र एउटा परमाणु बम खसाल्यो, जुन सतहबाट पाँच सय ५० फिट माथि विस्फोट भयो तर त्यो लगुनमा राखिएका जहाजहरूलाई १५ सयदेखि दुई हजार फिट दूरीले प्रहार गर्नबाट चुक्यो। बमका कारण मात्र पाँच जहाज डुबे। तैपनि बमको धक्का र विकिरणले गर्दा जहाजमा राखिएका करिब एक तिहाइ पशु मरेका थिए। 

  • बिकिनी एटोलमा परीक्षण गरिएको दोस्रो परमाणु बमले सुनामी सिर्जना गर्‍यो। 

सन् १९४६ जुलाई २५ मा अमेरिकी सेनाले फरक किसिमले बम विस्फोट गराउने प्रयास गर्‍यो, लगुनको पानीको सतहबाट ९० फिटमुनि बम विस्फोट गराइयो। पानीभित्र पहिलो पटक परमाणु बम विस्फोट गराइएको थियो। यस विस्फोटले तातो ग्यासको विशाल बादल उत्पन्न गर्‍यो र त्यो एकै समय तलमाथि विस्तार हुँदै गयो। 

समुद्रको पिँधमा यसले ३० फिट गहिरो र दुई हजार फिट चौडा क्रेटर सिर्जना भयो। पानीको सतहमा तातोपानीको फोहरा निस्केझैँ यसले बनेको पानीको गुम्बद एक माइल माथिसम्म पुग्यो। यस विस्फोटले गर्दा ९४ फिट अग्लो छाल आउने गरी सुनामी उत्पन्न गर्दा २७ हजार टन तौलको अर्कन्सास पानीजहाज नै माथि उठ्यो। लक्ष्यमा राखिएका धेरैजसो जहाज सुनामीले बगे र आठवटा जहाज डुबे। 


  • सोभियत सङ्घले परीक्षण हेर्‍यो तर प्रभावित भएन।

अमेरिकाले आफूले गरिरहेको परीक्षण हेर्न अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुमति दिएको थियो। सोभियत परमाणु कार्यक्रमका प्रमुख तथा स्टालिन शासनमा गुप्तचर प्रहरीका प्रमुख लाभरेन्टी पाभ्लोविच बरायाले परीक्षण हेर्नका लागि एक जना भौतिकशास्त्री र एक जना भूगर्भशास्त्रीलाई पठाएको तथ्य सन् १९९५ मा प्रकाशित रिचर्ड रोड्सको पुस्तक ‘डार्क सन ः द मेकिङ अफ दि हाइड्रोजन बम’ उल्लेख गरिएको छ।  

तर उनीहरू अमेरिकाको परीक्षणबाट प्रभावित भएनन्। सोभियत सङ्घको परमाणु कार्यक्रममा युरेनियम विभागका प्रमुख सिमन पिटर अलेक्जेन्ड्रोभले त यतिसम्म भने, यदि अमेरिकाले यी परीक्षणबाट सोभियतलाई तर्साउने उद्देश्य राखेको छ भने यसको कुनै फाइदा छैन किनभने सोभियतसँग यस्ता बमवर्षक विमान छन् जो अमेरिकी सहरसम्म पुग्न सक्छन्।

  • बिकिनीमा तेस्रो परमाणु बम परीक्षण रद्द गरियो। 

सन् १९४६ मा अमेरिकी परमाणु हतियार कार्यक्रममा एक समस्या थियो– अमेरिकासँग धेरै बम थिएनन्। अमेरिकासँग भएका तीन परमाणु बममध्ये एबल र बेकर त विस्फोट गराइसकिएको थियो। नयाँ बमको उत्पादन तीव्र बनाएको भए पनि अमेरिकी सेना भएका स्रोतको अपव्ययप्रति चिन्तित थियो। सन् १९४७ अप्रिलमा अपरेसन क्रसरोडअन्तर्गत तेस्रो परीक्षणमा चार्लीलाई समुद्रभित्र अझै गहिराइमा विस्फोट गराउने 

योजना भए पनि म्यानहटन प्रोजेक्ट र पेन्टागनका वरिष्ठ अधिकारीले त्यसको कुनै सैन्य महìव नभएको तथा अर्को बम उपलब्ध गराउँदा हल्का र साना परमाणु हतियार बनाउने प्रयास बाधित हुने तर्क राखे। यस कारण परीक्षण स्थगित गरियो र पछि रद्द नै गरियो। सन् १९४६ का परीक्षणपछि बिकिनी एटोललाई सन् १९५४ सम्म परीक्षणका लागि पुनः 

प्रयोगमा ल्याइएन। 

  • हाइड्रोजन बम परीक्षणबाट अनुमानभन्दा ठूलो विस्फोट भयो। 

ब्राभो परीक्षण अमेरिकाले विस्फोट गराएको पहिलो हाइड्रोजन बम थिएन, सन् १९५२ मा मार्सल आइल्यान्ड्सको एनवाक एटोलमा विस्फोट गराइएको आइवी माइकसँग मिल्दोजुल्दो थियो तर हतियारका रूपमा प्रयोगमा ल्याउन सकिने जतिको सानो आकारमा तयार पारिएको यो पहिलो थर्मोन्युक्लियर अर्थात हाइड्रोजन बम थियो। यस बमका डिजाइनरले प्रविधिको विकास गरी आकार सानो पार्नमा सफलता पाए पनि एक ठूलो गल्ती गरे यसको प्रभावको अनुमान गर्नमा।

दस हजार ६५९ किलो तौलको यस बमलाई सन् १९५४ मार्च १ मा विस्फोट गराउँदा १५ मेगा टन ऊर्जा उत्पन्न भयो, जुन अनुमान गरिएको भन्दा तीन गुणा बढी थियो। विस्फोटले तीनवटा साना टापु विलीन गरिदियो र लगुनको पिँधमा १.६ किलोमिटर चौडा क्रेटर बन्न पुग्यो। 

एक सय २८ किलोमिटर टाढा समुद्रमा माछा मारिरहेको एक जापानी जहाजका २३ सदस्य तथा रोङलाप र युटेरिक एटोलका बासिन्दा विस्फोटका कारण पैmलिएको रोडियोधर्मी विकिरणले प्रभावित भए। जापानी जहाजका एक सदस्यको त विकिरणका कारणले छ महिनापछि ४० वर्षको उमेरमा 

निधनसमेत भयो। 

  • बिकिनीमा परीक्षण गरिएका हाइड्रोजन बमको नाम बिचिको थियो। 

दस हजार किलोभन्दा बढी तौलको भए पनि ब्राभो परीक्षणमा बमको नाम स्रिम्प थियो। ब्राभोको केही हप्तापछिको रोमियो टेस्टमा झनै ठूलो बम प्रयोग गरियो र यसको नाम रन्ट १ राखिएको थियो। 

  • बिकिनी एटोल अझै पनि बसोबासका लागि उपयुक्त छैन।

जब सन् १९४६ मा बिकिनी एटोलका बासिन्दालाई मार्सल आइल्यान्ड्सका विभिन्न टापुमा सारिँदै थियो उनीहरूलाई चाँडै नै त्यहाँ फिर्ता ल्याइने वाचा पनि गरिएको थियो। सन् १९६० को दशकको सुरुमा  अमेरिकी परमाणु ऊर्जा आयोगले बिकिनी एटोल पुनः मानव बसोबासका लागि सुरक्षित भएको बतायो र केही पूर्ववर्ती  बासिन्दालाई त्यहाँ फर्किन अनुमतिसमेत दियो तर त्यो अनुमति एक दशकपछि नै हटाइयो।  किनभने फर्किएका बासिन्दाको शरीरमा सिजियम–१३७  को मात्रा ७५ प्रतिशतले वृद्धि भएको पाइएको थियो । 

बिकिनी एटोलका बासिन्दालाई एक पटक फेरि अन्यत्र सार्ने काम भयो। यस पटक चार सय ५० किलोमिटर टाढाको किली टापुमा लगियो। वैज्ञानिकहरू बिकिनी एटोल अझै पनि सुरक्षित नरहेको बताइरहेका छन्। 

परमाणु हतियारको भयानक शक्ति तथा आधुनिक सभ्यतामा त्यसको प्रभावको सम्झनास्वरूप युनेस्कोले सन् २०१० मा बिकिनी एटोललाई विश्व सम्पदासूचीमा राखेको घोषणा गरेको थियो। 


–हिस्ट्रीबाट उमेश ओझाद्वारा अनुवादित र सम्पादित