• १४ भदौ २०८२, शनिबार

माइतीघरका मियो

blog

कुनै पनि सिर्जनात्मक कार्यको मापन त्यसको सङ्ख्याले भन्दा त्यसको गहिराइपूर्ण गुणस्तरीयताले गर्छ । साहित्यमा यसको ज्वलन्त उदाहरणका रूपमा गुरुप्रसाद मैनाली र इन्द्रबहादुर राईलाई लिन सकिन्छ । मैनालीका कथाहरू मात्र ११ वटा हुन् भने राईको उपन्यास एउटै मात्र हो ‘आज रमिता छ’ ।  उनीहरू दुवै नेपाली आख्यानको इतिहासका युगान्तकारी पात्र रहनुभयो, जसले नेपाली कथा र उपन्यासको यात्रामा पृथक् पहिचान दिलाउनुभयो । यस्तै थोरै कार्य गरेका तर कालजयी कर्मका वाहक नेपाली चलचित्रका क्षेत्रमा पनि केही छन्, तीमध्येका एक हुनुहुन्छ बीएस थापा । 

विसं १९८२ मा भारतको देहरादुनमा जन्मनुभएका थापाको वास्तविक नाम भीमसिंह थापा हो । नेपाली चलचित्रका अधिष्ठाता निर्देशक भनेर चिनिने हीरासिंह खत्री जन्मेकै ठाउँमा जन्मनुभयो थापा । कर्म पनि उस्तै उस्तै रह्यो उहाँहरूको । पुराना निर्देशक रहेर पनि स्नातकोत्तरसम्मको राजनीतिशास्त्र र कानुनको स्नातकसम्मको औपचारिक अध्ययनले पनि उहाँको व्यक्तित्व निकै प्राज्ञिक थियो भन्ने स्पष्ट हुन्छ । आकाशवाणी दिल्लीको अल इन्डिया रेडियोसित पनि केही समय जोडिनुभएका उहाँमा सञ्चारकर्मको पनि खुबी रहेको पुष्टि हुन्छ । क्रमश सिनेमाको मायावी संसारमा जोडिने भूत सवार भयो र बम्बई हान्निुभयो उहाँ । त्यहाँ फिल्मकर्मी चेतन आनन्दसितको हिमचिमले उहाँ पटकथा र संवाद लेखनमा प्रवृत्त हुनुभयो । क्रमश सहायक निर्देशक हुँदै पञ्जाबी र हिन्दी सिनेमामा उहाँ जम्न थाल्नुभयो तर समग्र नेपाली मनलाई गर्व लाग्ने कुरा, उहाँको पहिलो निर्देशन नै नेपाली सिनेमाबाट हुन गयो जुन चलचित्र थियो माइतीघर । 

नेपालका सिनेमा अनुरागी तथा प्राविधिक किशोर तिमल्सिना तथा लगानीकर्ताहरू जर्नेल नरशमशेर तथा जोगेन्द्र झासित सहकार्य गरी निजी क्षेत्रबाट सर्वप्रथम नेपाली चलचित्रको निर्माण गर्ने सिर्जनात्मक कर्ता रहनुभयो थापा । हिन्दी चलचित्रकी महसुर नायिका माला सिन्हा तथा सुनील दत्त आदिलाई नेपाली रजतपटमा भित्र्याएर थापाले गर्नुभएको स्तुत्य कार्यलाई नेपाली सिनेमाले कदापि भुल्न सक्दैन । किशोर तिमल्सिनासित बम्बईमा अनायसै भेट भएपछि थापा र तिमल्सिनाका बिच हामी रगतले नेपाली भएका दाजुभाइले किन नेपाली सिनेमाका लागि निर्माणको पहल नगर्ने भनी कुराकानी भएपछि माइतीघर निर्माणको खाका कोरिएको थियो । नेपालीमा पनि सिनेमा बन्न सक्ला र ? भन्ने सोचमा रहेका थापालाई तिमल्सिनाले अवश्य सक्छ भनी विश्वस्त पार्नुभयो र माला सिन्हालाई पनि माइतीघरमा काम गर्न राजी बनाउनुभयो । साथै लगानीकर्ता भित्र्याउन पनि तिमल्सिनाको औधी ठुलो भूमिका रहेको थियो । 

निर्माणका क्रममा निकै ठुलो झन्झट बेहोरेको थियो यो चलचित्रले । नायिकामा माला सिन्हा अनुबन्धित भइसकेपछि करछलीको आरोपमा उहाँ गिरफ्तार हुनुभयो जसको गाँठो फुकाउन निर्मातालाई निकै पापड बेल्नु प¥यो । पहिले अनुबन्ध भएका नायक भानुप्रताप सिंहले पटक पटक टेक लिँदा पनि अभिनय गर्न सकेनन्, जसका कारण उहाँको ठाउँमा प्रेमध्वज प्रधानलाई नायक बनाउन खोजियो । प्रधानले नचाहेपछि बल्लतल्ल सिपी लोहनीलाई लिएर काम गरिएको थियो । आर्थिक रूपमा नोक्सान नै भए पनि निकै ठुलो अनुभव यो चलचित्रले नेपाली सिनेमा जगत्लाई दिएको थियो । पिता नारायणसिंह र माता लक्ष्मीको सम्मिलनबाट जन्मनुभएका थापा अरूण, अनिल, अरूण, रेश्मा तथा सिम्रनका मायालु बाबु हुनुहुन्छ । उहाँकी छोरी र नातिनीसमेत चलचित्रमा कुनै हिसाबले जोडिएको पाइन्छ । 

चलचित्रमा निर्देशन, लेखन र अभिनयमा पनि दखल राख्ने थापा माइतीघरको निर्देशनको दुई दशकपछि दोस्रो पटक नेपाली सिनेमासित जोडिनुभयो चलचित्र कान्छीमार्फत । व्यापारिक हिसाबले अत्यन्त सफल यो चलचित्रको निर्माणले थुप्रै नेपाली निर्मातालाई सिनेमामा लगानी गर्ने बाटो खोलिदियो । भर्खर एभरेस्ट टुथपेस्टमा मोडलिङ गर्नुभएकी शर्मिला मल्ललाई प्रविष्टि त थापाले दिनुभयो नै, मल्लले पनि यसबाट अत्यन्त ठुलो स्याबासी दर्शकबाट पाउनुभयो । त्रिकोणात्मक प्रेमकथामा आधारित कान्छीका निर्देशक थापाले यो क्षेत्रमा शर्मिला शाही (मल्ल) लाई सिनेमाको जीवन दिनुभयो । अतः शर्मिलाका गडफादर नै हुन् थापा । एभरेस्ट टुथपेस्टको विज्ञापन देखेर थापाले जयनन्द चन्दमार्फत रेडियो नेपालमा शर्मिलालाई भेटनुभयो र तत्कालै चलचित्र कान्छीमा अनुबन्ध गर्नुभयो । आफू उमेरका हिसाबले आलोकाँचै थिएँ, छायाङ्कनमा समयमा नपुग्दा निर्देशकको गाली खाएको र तर विद्रोही स्वभावले हुन सक्छ तिमीहरूले नै मलाई खाज्दै आएका हौ, मैले खोजेको होइन र मलाई तिमीहरूको फिल्म खेल्नु छैन भनेपछि थापालगायत निर्माण पक्षले फकाइफुल्याई काममा लगाएको शर्मिलालाई अझै झलझली सम्झना छ । आफूमा बालापन कायमै रहेकाले यस्तो भएको र पछि आएर त्यसमा आफ्नो गल्ती भएको महसुस पनि भएको छ । कलाकारलाई हरेक कोणबाट सम्झाएर, बुझाएर, सिकाएर काम लिने खुबी थापासित रहेको स्वीकारोक्ति छ मल्लको । शिव श्रेष्ठ, हरिहर शर्मा, रवीन्द्र खड्का आदिलाई थापाले स्टार बनाउनुभयो भने खड्का र मल्ललाई त ब्रेक नै दिनुभयो । 

वरिष्ठ रङ्गकर्मी तथा अभिनेता रवीन्द्र खड्का आफू निर्माताद्वय फोटो कन्सर्नका डिबी थापा र गेहेन्द्र धिमालमार्फत चलचित्र मायाप्रीतिमा जोडिन पुग्नुभएको हो । आफ्नो निर्देशन रहेको नाटक साहुजीकी लाटी स्वास्नी त्यतिबेला राष्ट्रिय नाचघरमा मञ्चन भइरहँदा खड्का मायाप्रीतिमा अनुबन्ध हुनुभयो । डिबी थापामार्फत रवीन्द्र खड्काले निर्देशक थापालाई आफ्नो नाटक हेर्न निम्ता दिनुभएको र आफ्नो छोटो भूमिकाबाट प्रभावित भएर आफू फिल्ममा अनुबन्ध भएको ठान्नुहुन्छ । कलाकारलाई हरेक कोणबाट सिकाएर काम लिने क्षमताका धनी थापाको स्वभावलाई खड्का उच्च सम्मान दिनुहुन्छ । घोडा चढे लडिन्छ है.... नामक गीतको छायाङ्कनमा पहिलो पटक उहाँले क्यामरा फेस गरेको तर एकै टेकमा ओके भएको क्षणलाई खड्का आज पनि जीवनको गर्व लाग्ने क्षण ठान्नुहुन्छ । वरिष्ठ रङ्गकर्मी तथा अभिनेता हरिहर शर्मा थापालाई नेपाल र नेपालीलाई अत्यन्त माया गर्ने सर्जकका रूपमा लिनुहुन्छ । निर्मातामध्येका एक गेहेन्द्र धिमालमार्फत मायाप्रीतिमा जोडिनुभएका अर्का कलाकार कृष्ण मल्ल थापालाई सहजतापूर्वक कथावाचन गर्न सक्ने सफल निर्देशक ठान्नुहुन्छ । कलाकारहरूले छायाङ्कनमा समयमा सदा फ्रेस रहनुपर्ने बताउने र निरन्तर सिकाउने गुरुका रूपमा पनि लिनुहुन्छ मल्ल उहाँलाई । 

मात्र तीन वटा कथानक चलचित्रको दिग्दर्शन गर्ने थापाले हिन्दी सिनेमामा सार्थक उपस्थिति देखाउनुभएको छ । लगभग ४० वर्ष उहाँ चलचित्रको मायावी संसारमा सक्रिय रहनुभयो । विसं २०१४ मा अर्पणमार्पmत हिन्दी सिनेमामा जोडिनुभयो अभिनयका माध्यमबाट । क्रमशः ठाकुर आनन्दको किनारे किनारे (सन् १९६३) मा अभिनय गर्दै आगजनी कास्मेरी तथा ये रास्ते है प्यारकामा पटकथा लेखनका माध्यमबाट परिचित हुनुभयो । मन जिता जगजित, रेस्मा और शेरा आदिमा विभिन्न विधामार्फत उहाँ सक्रिय रहनुभयो । उहाँले हिन्दी सिनेमा हिमालय से उच्चामा पहिलो पटक पूर्ण निर्देशन गर्नुभयो । क्रमशः गङ्गाधाम, चरणदास तथा लक्ष्मी उहाँको निर्देशनका उदाहरण हुन् । यसै गरी जिन्दगी और एक्का तथा बाल ब्रह्मचारी जस्ता सिनेमामा उहाँ अभिनय तथा सहनिर्देशकका माध्यमबाट जोडिन पुग्नुभयो । 

मुम्बईमा हरेक चलचित्रका सवालमा कानुनी समस्या आउँदा वा कानुन विषयवस्तु रहेका चलचित्रको निर्माणका सन्दर्भमा थापाको सल्लाह निकै फलदायी हुने गर्दथ्यो । सिनेमा जीवनको सम्मानका खातिर उहाँले नेपाल र भारतका केही सार्थक पुरस्कार तथा सम्मानहरू पनि पाउनुभएको छ । सुनील दत्तका त उहाँ लामो समयसम्मका सहयात्री हुनुहुन्थ्यो नै, उहाँका छोरा सञ्जय दत्तको क्यारियर उठानमा पनि थापाको निकै ठुलो हात रहेको छ । सञ्जयका उहाँ गुरु नै रहे भने राजेश खन्ना तथा अमिताभ बच्चनसित पनि उहाँ कतै न कतै जोडिनुभएको छ । चलचित्रमा समर्पित एउटा सार्थक जीवन अर्थात् थापाको चोला उठ्यो भारतको मुम्बईमा सन् १९९६ मा । यो साल अर्थात् सन् २०२५ बिएस थापाको जन्मशताब्दी वर्ष हो ।