‘दुबोमा नटेकौँ, बोटबिरुवा, फूललाई माया गरौँ, यो उद्यान हामी सबैको हो’ यो सूचना लेखिएको बोर्ड मेरो आँखाअगाडि सधैँ आइरहन्छ । कुनै समय छेउबाट हिँड्न पनि मन नलाग्ने क्षेत्र अहिले सफा, दायाँबायाँ दुबो, फलफूलको बोट, धुपी, कल्की, कपुर आदिका बोटहरू अनि बिचमा रङ्गिन सिमेन्ट ब्लकको बाटो छेउमा मनोहरा नदी देख्दैमा मनोरम दृश्य । साँझबिहान सबै उमेर समूहका मानिसहरूको जमघट र आआफ्ना क्रियाकलापमा मस्त र व्यस्त ।
यो शब्द दृश्य मनोहरा खोलाको हो । पारि मध्यपुर ठिमी नगरपालिकाको दिव्येश्वरी प्लानिङ वारि काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ र बिचमा मनोहरा खोला । दुवैतर्फ नदीका साइडमा खुला ठाउँमा विकास गरिएको उद्यानले अहिले यस क्षेत्रका बासिन्दा मात्र होइन काठमाडौँका अन्य क्षेत्रका बासिन्दालाई समेत तान्ने गरेको छ । भनिन्छ नि सार्वजनिक पार्क, उद्यान र खोलानाला कुनै पनि बस्ती, सहर, गाउँ, टोलका मुटु जस्तै अभिन्न हुन । जहाँ श्वास फेरिन्छ, जीवन सुस्तरी बग्छ र समाजले आफ्ना रङहरू उजागर गर्छ । यी केवल पानी बग्ने नाला मात्र होइनन्, यिनीहरू मानिस र प्रकृतिबिचको सम्बन्धलाई पुनर्जीवित गराउने जीवन्त माध्यम पनि हुन् ।
खोलानालाको मर्म भनेको केवल पानी बगाउने मार्ग होइन, त्यो एक जैविक कोरिडोर पनि हो, जसले सहरलाई स्वाभाविक रूपमा चिस्याउँछ, बाढीको जोखिम घटाउँछ र हरियालीसँग जोडिएको जीवन प्रदान गर्छ र सहरलाई सुन्दर र रमणीय बनाउँछ । साँझ बिहान दौडिँदै गरेका युवा, घाम ताप्दै गरेका वृद्धहरू, बेन्चीमा हाँसिरहेका वृद्ध वा आमा, बालबालिका वा छायामा गफिरहेका युवकयुवती यी सबै दृश्य यिनै खुला ठाउँमा सम्भव हुन्छन् । यी ठाउँहरूले मानिसलाई शारीरिक रूपमा सक्रिय राख्न, मानसिक तनाव घटाउन र सामाजिक अन्तर्क्रियालाई बढावा दिन महत्वपूर्ण भूमिका खेल्छन् । राम्रोसँग व्यवस्थापन गरिएका पार्क, बगैँचा र सौन्दर्यीकरण गरिएका खोलानालाले आन्तरिक बाह्य पर्यटकलाई आकर्षणसमेत गर्छन्, जसले स्थानीय अर्थतन्त्रलाई गति दिन्छ र रोजगारीका अवसरसमेत सिर्जना गरिदिन्छ ।
आधुनिक सहरको योजना बनाउँदा यिनको उपेक्षा गर्नु भनेको आफ्नै अस्तित्वलाई नदेख्नुसरह हो । हामीले हाम्रा सहरमा जहाँ सम्भव छ, त्यहाँ यस्ता जीवन्त ठाउँको सिर्जना, संरक्षण र प्रवर्धन गर्नु आजको पहिलो सर्त हुनु पर्छ । जसलाई हाम्रा स्थानीय सरकारले पनि पछिल्लो पटक आत्मसात् गरिरहेको महसुस हुन्छ । हामीले ठुला देशले पनि यस्ता सार्वजनिक पार्क, उद्यान र खोलानालाको विकासमा लोभलाग्दो विकास गरेको देखेका छौँ । यस विषयमा दर्जनौँ उदाहरण दिन सकिन्छ । जसले वातावरणीय संरक्षण, सहरी सुन्दरताको वृद्धि, सामुदायिक जीवनस्तर सुधार र पर्यटन प्रवर्धनमा समेत महत्वपूर्ण योगदान पु¥याएको पाइन्छ । अमेरिकास्थित न्युयोर्कको सेन्ट्रल पार्क जहाँ हरियाली, कृत्रिम ताल, खेल मैदान र सांस्कृतिक गतिविधिको केन्द्र हो, जसले भिडभाडपूर्ण सहरबिच स्वस्थ र शुद्ध वातावरण प्रदान गर्छ ।
बेलायतको लन्डनस्थित हाइड पार्क जसमा ताल, फूलबारी, घोडचढी मार्ग तथा स्वतन्त्र अभिव्यक्ति र नागरिक संवादको प्रतीक स्पिकर्स कार्नर रहेको छ । सिङ्गापुरको ‘गार्डेन्स बाइ दी बे’ अत्याधुनिक प्रविधिबाट निर्मित सुपरट्री संरचना, जलवायु नियन्त्रित डोम र बोटानिकल गार्डेनको अद्वितीय संयोजन हो, जसले सहरको ब्रान्डिङ र पर्यटन दुवैलाई नयाँ उचाइमा पुरयाएको छ । दक्षिण कोरियाको सियोलमा रहेको चेओङगेच्येओन खोला पुनरर्जीवन परियोजना प्रदूषित र ढाकिएको खोलालाई खुला, हरित र मनोरञ्जनयुक्त नदी किनारमा रूपान्तरण गरेको छ । जसले सहरको तापमान घटाउने, जैविक विविधता बढाउने र पैदलमार्ग तथा साइकलमार्गको विकासमा योगदान पु¥याएको छ । चीनको साङ्घाईमा ‘बिनजियाङ पार्क’ र ‘हुआङ्गपु’ नदी किनार पुनर्निर्माणले पुराना औद्योगिक क्षेत्रलाई हरित क्षेत्रमा बदल्दै नदीसँग नागरिकको सम्बन्ध पुनस्र्थापना गरेको छ । अस्ट्रेलियाको सिड्नीस्थित रोयल बोटानिक गार्डेनमा साढे सात हजारभन्दा बढी प्रजातिका बोटबिरुवा रहेका छन्, जसले अनुसन्धान, शिक्षा र मनोरञ्जनको अद्वितीय संयोजन प्रस्तुत गरेका छन् ।
नेपालको सन्दर्भमा कुरा गर्दा अहिले सार्वजनिक उद्यान, पार्क, खोलानाला संरक्षण गरी हरियाली र सौन्दर्यीकरण गर्ने कार्यले गतिलिएको छ । यस्तै यस्तै महसुस जोकोही यतिखेर मनोहरा कोरिडर पेप्सीकोलामा पुग्छ । कुनै बेला झाडी नै झाडीले असरल्ल मनोहरा कोरिडर यतिबेला त्यस क्षेत्रका जनताको विश्राम लिने, प्रातःकालीन र सन्ध्याकालीन समयमा घुमफिर गर्ने थलो भएको छ । काठमाडौँ महानगरपालिकाले पनि पछिल्लो पटक सहरको सौन्दर्यीकरणलाई विशेष जोड दिएको छ । खोला किनारालाई साँच्चिकै सुधार ग¥यो भने त्यसको सकारात्मक प्रभाव कति हुँदो रहेछ भन्ने कुरा अहिले हामीले बुझिरहेका छौँ ।
अधिकांश खोलानालाका किनार अवैध काम गर्ने, फोहोर फाल्ने सुरक्षित स्थान थिए, त्यसले एक हदसम्म काठमाडौँको प्राकृतिक, सामाजिक, सांस्कृतिक महत्वलाई गिज्याइरहेको थियो तर आज काठमाडौँका अधिकांश खोला किनार हेर्नलायक बनाइएको छ । किनारका दुवैतर्फ सवारीसाधन कुद्ने चिल्ला बाटो छन् । मौसम अनुसारका फूल फुल्छन्, मानिस बिहान बेलुका समय बिताउने टहलिने राम्रो ठाउँमा परिणत भएका छन् । पेप्सीकोला प्लानिङस्थित मनोहरा पुलको उत्तरी भाग मनोहरा खोलाको किनार दुर्गन्धित ठाउँ थियो, झाडी थियो । हरेक घरका कवाड सामान फ्याक्ने, फोहोर फाल्ने ठाउँमा परिणत भएको थियो । दुई वर्षदेखि खोलाको किनार सौन्दर्यीकरण गरिएको छ । सडकको किनार छेउमा कालोपत्रे सडक र खोलातर्फ अहिले सुन्दर हरियाली कोरिडर बन्दा त्यो ठाउँको मुहार नै फेरिएको छ । त्यो ठाउँले मानिसलाई तानिरहेको छ । अहिले यो ठाउँ फिल्म सुटिङ गर्ने, रिल बनाउने र टिकटक बनाउनेका लागि आकर्षक थलोमा रूपान्तरण भएको छ । विशेष गरी बिदाको समय त्यहाँ मानिस आराम गर्न, घुमफिर गर्न, सुटिङलगायतमा समय बिताउने गर्छन् ।
विशेष गरी बिहानीको समयमा मानिसहरू हिँड्ने, शारीरिक अभ्यास गर्ने, योगा, ध्यान गर्ने, नाच्ने गाउने, युवकयुवती गफिने ठाउँ भएको छ । ससाना जस्तो चनाचटपटे, पानी पुरी, आइसक्रिम, मकै बच्नेहरूका लागि आफ्नो गुजारा गर्ने ठाउँ भएको छ । साँझपख बाआमा कोरिडोरमा राखिएका फलामका घुम्ने बेन्चमा बसेर मजाले गफ गरेको देख्न पाउँदा मनै आनन्द हुन्छ । केटाकेटीलाई खेल्न, हिँड्न सिकाउने ठाउँ भएको छ ।
एकाबिहानै पार्कमा भेटिएका सिन्धुपाल्चोकका रवि खत्रीले भन्नुभयो, “मलाई एक दिन यहाँ आइन भने के भयो, के पुगेन जस्तो हुन्छ त्यसैले जतिसुकै व्यस्त भए पनि दिनको एक पटक यहाँ आएर घुम्ने, आनन्दको सास लिने गर्छु ।” काठमाडौँ महानगरपालिकाको यो कामप्रति आफू अत्यन्त प्रभावित भएको र अहिलेका नेतृत्वलाई उहाँले धन्यवाद पनि दिनुभयो । ‘विकास भन्ने कुरा ठुलठुला काम गरेर मात्र हुने होइन, ससानो कामले पनि सहरका बासिन्दामा खुसी दिन सकिन्छ । जुन कुरा काठमाडौँ महानगरपालिकाले गरेको छ, मलाई यो ठाउँको मुहार फेरिएको देख्दा के यो साँच्चिकै हो जस्तो लागिरहेको छ,’ अर्का स्थानीय बासिन्दा सीता शर्माले भन्नुभयो ।
यो ठाउँमा अब एक दुई स्थानमा सार्वजनिक शौचालय बनाइदिन यहाँका स्थानीयवासीको सुझाव छ । बरु सःशुल्क भए पनि हुन्छ । त्यसमा वडाको रेखदेखमा सार्वजनिक शौचालयको प्रबन्ध गरिनुपर्ने स्थानीय बासिन्दाको अनुरोध छ । अहिले काठमाडौँभित्र बागमती, विष्णुमती, धोवीखोला, हनुमन्ते, मनोहरालगायतका खोला किनारमा हरियाली र सौन्दर्यीकरण भएको छ । यसले सिङ्गो काठमाडौँकै धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वलाई थप बढाएको छ । काठमाडौँको वायुप्रदूषण नियन्त्रणमा समेत सहयोग गरेको छ । खोला किनारको महत्व बढाइदिएको छ । यस आसपास रहेका क्षेत्रको व्यावसायिक महìव बढेको छ ।
महानगरभित्र अहिले पुराना मठमन्दिर पार्कहरूलाई पुनर्निर्माण गरी पुनर्जीवन दिइएको र सडकका किनार कलात्मक शैलीमा तयार भएको फल्सा देख्न पाइन्छ । ससानो प्रयासबाट पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ भन्ने यो एउटा अनुपम उदाहरण बनेको छ । काठमाडौँ महानगरपालिकाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा महानगरभित्र १० स्थानमा बगैँचा, पार्क तथा खोला कोरिडोरको सौन्दर्यीकरण गरिएको छ । आव २०८०/८१ मा २६ स्थानमा सौन्दर्यीकरण गरिएको थियो । चालु आवमा महानगरको बजेटमा ३० स्थानमा सौन्दर्यीकरण, पार्क निर्माणलगायतको प्रस्ताव गरिएको छ । महानगरको बजेटमा उद्यानमा मौरीको घर/गुँड निर्माण र पन्छी निवास निर्माण अभियान जस्ता अत्यन्त आकर्षक तथा प्रकृतिमैत्री कार्यक्रमसमेत समेटिएको पाइन्छ ।
महानगरपालिकाले चालु आवका लागि मेरो रहर, सुन्दर र हरित सहर शीर्षक अन्तर्गत उद्यान तथा पार्क निर्माण, व्यवस्थापन सौन्दर्यीकरणका लागि २७ करोड रुपियाँको बजेट विनियोजन गरेको छ । अघिल्लो आव २४ करोड ४२ लाख रुपियाँको बजेट विनियोजन गरेको थियो । सङ्घीय सरकारको वार्षिक बजेटमा पनि बागमतीलगायत काठमाडौँ उपत्यकाका नदीलाई स्वच्छ बनाउन आवश्यक पूर्वाधार निर्माण गरिने र शङ्खरापुरमा जहरसिंह पौवा स्टेडियम र गणेशमान सिंह पार्क तथा बुढानीलकण्ठ गोकर्णेश्वरमा मदनभण्डारी बहुउद्देश्यीय पार्कको निर्माण कार्य सुरु गरिने कार्यक्रम आएको छ ।
काठमाडौँको मुहार नै परिवर्तन गर्ने यस्ता सबै आयोजनाको संरक्षणमा स्थानीय बासिन्दाको ठुलो साथ र सहयोग महानगरपालिकाले खोजेको कुरा काठमाडौँ महानगरपालिकाको उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका निर्देशक नवराज थापा बताउनुहुन्छ । महानगरले विकास गरेका उद्यानको संरक्षण तथा अतिक्रमण रोक्ने, फोहोर मैला गर्न नदिने, अवाञ्छित गतिविधि रोक्ने काममा स्थानीय उपभोक्ता, टोल सुधार, वडा कार्यालयका साथै स्थानीय बासिन्दाको सहयोग र सहकार्य सबैभन्दा ठुलो योगदान हुने भनाइ उहाँको छ । सार्वजनिक पार्क, उद्यान र खोलानालाको विकास केवल सौन्दर्यका लागि मात्र होइन, वातावरणीय संरक्षण, स्वास्थ्य, सामाजिक सम्बन्ध र आर्थिक विकासका लागि पनि अत्यावश्यक हुन्छ ।