• ११ मंसिर २०८१, मङ्गलबार

‘प्रदीप दाइ सदैव प्रेरणापुञ्जका रूपमा रहनु हुनेछ’ : सञ्चारमन्त्री कार्की

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ।

काठमाडौं, भदौ ६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरी सबै राजनीतिकर्मीका लागि सदैव प्रेरणापुञ्जका रूपमा रहने बताउनुभएको छ ।

स्वर्गीय प्रदीप गिरीको निधनपछि मन्त्री कार्कीले उहाँको स्मरण गर्नुहुँदै भन्नुभएको छ, ‘‘प्रदीप दाइ आफू अस्ताउनुभयो तर नेपाली राजनीतिमा सिद्धान्त, निष्ठा र विचारको एउटा कहिल्यै ननिभ्ने दियो जगाउनुभयो, एक राजनीतिकर्मी  सधैँ पद र प्रलोभनबाट बाहिर बस्न रुचाउनुभयो ।’’

नेता गिरीले आफूलाई राजनीति, दर्शन, साहित्य र विचारको एउटा विश्वकोषका रुपमा अग्ल्याएर सधै साधारण जीवनयापनमा रमाउनुभएको स्मरण गर्नुहुँदै मन्त्री कार्कीले भन्नुभएको छ, ‘‘तपाईंको सरल जीवनशैली,  असल चिन्तन र समयानुकूल विचार हरेक राजनीतिक पार्टी र राजनीतिकर्मी सबैका लागि सदैव प्रेरणापुञ्जका रूपमा रहनेछ ।’’

नेपाली कांग्रेसबाट निर्वाचित सांसद गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै मन्त्री कार्कीले शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गर्नुभएको छ । नेता गिरीको शनिबार राति उपचारको क्रममा ७५ वर्षको उमेरमा निधन भएको थियो ।