• ६ साउन २०८१, आइतबार

नेताको दृष्टिमा प्रदीप गिरी

‘प्रजातान्त्रिक समाजवादको एउटा प्रखर चिन्तक’

blog

गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, कांग्रेस नेता शेखर कोइराला, उदय शमशेर राणा र बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे ।

गोरखापत्र अनलाइन

ललितपुर, भदौ ५ गते । कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरी नेपालको प्रजातान्त्रिक समाजवादको एउटा प्रखर चिन्तक भएको चर्चा नेताहरुले गर्नुभएको छ। नेता गिरीको शनिबार राति निधन भएपछि उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आइतबार मेडिसिटी अस्पताल पुग्नुभएका विभिन्न व्यक्तित्वले उहाँको व्यक्तित्वले चर्चा गर्नुभएको हो। नेता गिरीको बारे शीर्ष नेताको विचार : 

गिरीको निधनले सिंगो देशलाई क्षति : बालकृष्ण खाण गृहमन्त्री

गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले गिरी नेपाली राष्ट्रियताको संवद्र्धन र जनताको अधिकारलाई स्थापित गर्न जीवनभर लागिरहनुभएको बताउनु भयो। गिरीले नेपाली कांग्रेसलाई समावेशी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उहाँले उल्लेख गर्नुभयो। उहाँको निधनले सिंगो देशलाई क्षति भएको मन्त्री खाणको भनाइ छ। 

उहाँले भन्नुभयो, ‘‘नेपालको राजनीतिमा उहाँको प्रतिवद्धता प्रजातान्त्रिक समाजवादप्रति थियो। प्रजातान्त्रिक समाजवादको एउटा प्रखर चिन्तककै रूपमा हुनुहुन्थ्यो उहाँ। उहाँको राजनीति दार्शनिक ढंगको थियो। राजनीतिलाई सही दिशामा लिएर जाने, नेपालको राष्ट्रियताको संवद्र्धन र जनताको जनाधिकारलाई स्थापित गर्ने क्रममा उहाँ जिन्दगीभर लागिरहनुभयो।’’ 

‘‘उहाँ नेपाली काँग्रेसको प्रभावशाली नेता हो, आफ्नो निर्वाचन क्षेत्रमा पनि उहाँ सबैको लोकप्रिय नेता हुनुहुन्थ्यो, नेपाली काँग्रेसलाई समावेशिकरण गर्न, सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृतिलाई समान रुपमा महत्त्व दिनुपर्छ र स्थान दिनुपर्छ भन्नेमा उहाँको सुरुदेखि नै जोड थियो र नेपाली कांग्रेसले त्यसलाई अंगीकार पनि गरेको छ’’, गृहमन्त्री खाणले भन्नुभयो। 

गिरी निष्ठावान राजनीतिज्ञ : अर्थमन्त्री शर्मा

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्माले गिरी नेपाली राजनीतिको एउटा ताराको रुपमा रहनु भएको उल्लेख गर्नुभयो। गिरीलाई सादगी जीवन जिउने निष्ठावान राजनीतिज्ञको रुपमा अथ्र्याउनु भयो। गिरीले लोकतन्त्र र समाजवादको गहिरो व्याख्या गर्ने गरेको स्मरण गर्नुभयो।

गिरी निडर नेता : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस नेता स्व. प्रदीप गिरी आफ्नो कुरा स्पष्टसँग राख्न सक्ने निडर नेता भएको बताउनुभयो। गिरीको सादगी जीवनबाट नेपालका राजनीतिज्ञले पनि केही सिक्नुपर्ने उहाँको भनाइ छ।

 नेता कोइरालाले भन्नुभयो, ‘‘उहाँ निडर मान्छे। पार्टीले मलाई के गर्छ, कसो गर्छ भन्ने पनि थिएन। त्यसलाई कसैले अराजक भन्ला, कसैले विचारक भन्ला, कसैले पार्टीभन्दा अलिकति माथि भन्ला यो आफ्नो ठाउँमा छ। उहाँबाट हामीले सिक्नुपर्ने भनेको सादगी जीवन पनि हामीले सिक्नुपर्नेछ।’’

चिन्तक तथा अध्ययनशील व्यक्तित्व : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गिरीलाई समाजवादी विचारका चिन्तक तथा अध्ययनशील व्यक्तित्वको रुपमा उल्लेख गर्नुभयो। उहाँ कम्युनिष्ट र कांग्रेस मिलेर नै देशको विकास गर्नुपर्छ भन्ने पक्षमा रहनुभएको मुख्यमन्त्री पाण्डेले बताउनु भयो। विगतमा पञ्चायतविरुद्ध कम्युनिष्ट र कांग्रेसको एकताको पक्षमा गिरी रहेकै कारणले पनि सो आन्दोलन सफल भएको उहाँले स्मरण गर्नुभयो।

गिरी निःस्वार्थी नेता : राणा

नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले प्रदीप गिरी निःस्वार्थी नेता भएको उल्लेख गर्नुभयो। कुनै पनि लोभ उहाँमा नरहेको भन्दै राणाले सांसद बनेर संसदमार्फत् बोलेर सरकारलाई दबाब दिनुमात्रै उहाँको चाहना रहेको बताउनु भयो। नेता गिरीलाई पार्टी कार्यकर्ताले असाध्यै माया गर्ने गरेको र महाधिवेशनमा जिताउने गरेको पनि उहाँले बताउनुभयो।

भदौ ४ गते राति ७५ वर्षको उमेरमा निधन हुनुभएका गिरी प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो। उहाँको पार्थिव शरीरलाई आइतबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिँदैछ।