• ६ साउन २०८१, आइतबार

श्रमिकको गुनासो सुन्दै श्रममन्त्री कुँवर

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर श्रमिकहरुको गुनासो सुन्नुभएको छ । श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आइतवार प्रत्यक्ष रुपमा श्रमिकका गुनासो सुन्ने कार्ययोजनाअनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुन्नुभएको हो । 

विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको, मलेसिया तथा अन्य देशमा जान म्यानपावरले लाखौं रकम लिएकोलगायतका गुनासो प्रत्यक्ष रुपमा उहाँले सुन्नुभएको छ ।

मन्त्री कुँवरले अब प्रत्येक आइतवार बिहान १० बजेदेखि १२ बजेसम्म प्रत्यक्ष रूपमा स्वदेश विदेशमा रहेका श्रमिकसँग कुरा गरेर उहाँहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने बताउनुभयो । मन्त्री कुँवरले श्रमिकको गुनासो सुन्दै विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याएमा तत्काल कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

मन्त्री कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर काठमाडौंभन्दा बाहिर नगएको अवस्थामा निरन्तर रुपमा गुनासो सुन्ने बताउनुभयो । मन्त्री कुँवरले कल सेन्टरमा आफैँ बसेर श्रमिकको गुनासो सुन्नुको उद्देश्य श्रमिकका समस्यामा राहतका लागि भएको बताउनुभयो ।  मन्त्रालयले विदेशमा जाने श्रमिकको गुनासो सुन्न र आएका उजुरी समाधान गर्नेगरेको बताउनुभयो । 

धेरै श्रमिकका उजुरी सम्बोधन गर्ने काम भएको र थोरै मात्र बाँकी रहेको मन्त्री कुँवरको भनाइ छ । श्रम स्वीकृत नगरी विदेशमा पुगेका, विदेशमा नै मृत्यु भएकालाई नेपाल ल्याउन केही कानुनी जटिलता रहेको उहाँले बताउनुभयो । मन्त्री कुँवरले श्रमिकलाई बुझ्दै नबुझी विदेश नजान पनि आग्रह गर्नुभयो । सरकारको डाटाअनुसार ४६ लाख नेपाली नागरिक विदेशमा रहनुभएको छ । 

मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालयको कल सेन्टरमा दैनिक स्वदेश तथा विदेशबाट २०० वटा उजुरी आउनेगरेको बताउनुभयो । मन्त्रालयले उजुरी छनोट गरेर प्रहरी र विभिन्न विभागमा सम्बोधनका लागि पठाउने गरेको उहाँले बताउनुभयो ।