• ६ साउन २०८१, आइतबार

राजमार्गका पुल जीर्ण

blog

शिवशङ्कर मिश्र

बारा, भदौ ५ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बाराका अधिकांश पुल जीर्ण हुँदा सवारीसाधन आलोपालो गुडाउनुपर्ने बाध्यता रहेको छ। झन्डै पाँच दशक पहिला निर्माण भएका ती राजमार्गअन्तर्गतका पुलको मर्मत कार्य नहुँदा एकतर्फी मात्र सवारीसाधन सञ्चालन हुने गरेका छन्। यो सडकमा २४औँ घण्टा आवतजावत गर्ने सवारीसाधनहरू घण्टौँसम्म रोकिँदा गन्तव्यतर्फ जान ढिलो हुने गरेको छ। अधिकांश पुलको पाया भासिसकेका छन्, पुलमा प्रयोग भएको डन्डीहरू खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेका छन् । तोकिएको समयमै सम्बन्धित ठाउँमा पुग्ने हतारसँगै दुवैतर्फ चारकोसे जङ्गल भएकाले सुरक्षाको चुनौतीलाई पनि सामना गर्नुको साथै बाटोमा घण्टौँसम्म कुर्दा गाडी साहु र यात्रुको गाली खानुपर्ने आफूहरूको बाध्यता बनेको चालक बृजकिशोर सिंहले बताउनुभयो । 

महेन्द्र राजाको पालामा महेन्द्र राजमार्ग निर्माण भएको अर्थात् पचास वर्षअगाडि यी पुल सोभियत सङ्घको सहयोगमा बनाइएका हुन्। समय–समयमा मर्मत नहुँदा अधिकांश पुल जीर्ण भइसकेका र क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन आवतजावत गर्ने गरेकाले जुनसुकै बेला पनि भासिन सक्ने अवस्थामा रहेको इन्जिनियर रामअश्रे केशरीले बताउनुभयो।