• ६ साउन २०८१, आइतबार

नेता गिरीको आजै अन्त्येष्टि गरिने

नेपालले एक सच्चा र असल नेता गुमायो: प्रधानमन्त्री

blog

काठमाडौं, भदौ ५ गते । उपचारको क्रममा शनिबार राति निधन हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको अन्त्येष्टि आइतबार गरिने भएको छ । 

क्यान्सर रोगबाट पीडित नेता गिरीको स्वास्थ्योपचारको क्रममा शनिबार राति ९ः३० बजे ७५ वर्षको उमेरमा निधन भएको थियो । यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले गिरीको निधनसँगै नेपालले एक सच्चा र असल नेता गुमाएको बताउनुभयो । 

उहाँले भन्नुभएको छ, नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।

कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माका अनुसार उहाँको पार्थिव शरीर बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलिका लागि ललितपुरको मेडिसिटी अस्पताल परिसरको शिवालयमा राखिनेछ । 

त्यसपछि ११ः३० बजेदेखि २ बजेसम्म कांग्रेस पार्टी कार्यालय सानेपाको बी.पी. स्मृति भवनमा श्रद्धाञ्जलि लागि राखिने जानकारी दिनुभयो । त्यसपछि अन्त्येष्टिका लागि पशुपति लगिनेछ । स्वास्थ्य जटिल बन्दै गएपछि उहाँ गत साउन ८ गते अस्पताल भर्ना हुनुभएको थियो। 

उहाँको निधनपश्चात् कांग्रेसले विज्ञप्ति प्रकाशित गरी भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेको छ ।