• ६ साउन २०८१, आइतबार

व्यायाम गर्ने ठाउँको सरसफाइ

blog

काठमाडौँ, भदौ ५ गते । काठमाडौँ महानगरपालिकाले पहिलो पटक निर्माण गरेको सिनामङ्गलस्थित व्यायाम तथा हिँडडुल गर्ने मार्ग बर्खाको झाडीले ढाकेपछि सरसफाइ गरिएको छ । 

विशेष गरेर सहरी बासिन्दालाई बिहान र साँझको समयमा हिँडडुल गर्नका लागि निर्माण गरिएको त्रिभुवन विमानस्थलको गेट आसपासको क्षेत्रमा घाँसपास, झाडीले ढाकेपछि लायन्स क्लब डिस्ट्रिक ‘एच’ अन्तर्गतको काठमाडौँ बाग्मती र बबरमहल क्लब मिलेर शनिबार सरसफाइ गरिएको छ । 

लायन्स क्लब काठमाडौँ बागमतीका वातावरण संयोजक शौरभ श्रेष्ठले भन्नुुभयो, “सहरमा हिँडडुल गर्ने खुला ठाउँ हुँदैन । महानगरपालिकाले बनाएको वाकिङ प्लेसमा घाँस र झाडीले ढाक्दा हिँड्न नसकिने अवस्था थियो । सर्पलगायतका विषालु कीराफट्याङ्ग्राको डर हुने भएकाले सरसफाइ गरी हिँड्न योग्य बनाएका हौँ ।”

यो क्षेत्रको पुनर्निर्माण र सुधारका लागि लायन्सका सबै सदस्यले सहयोग गरिरहेको उहाँले बताउनुभयो । 

हाल यो क्षेत्रमा आधा किलोमिटर भाग सफाइ गरेर हिँडडुल गर्न लायक बनाइएको छ । यो काममा लायन्स, लियोका सदस्य तथा लायन्सका बच्चाहरूले पनि स्वतस्फूर्त रूपमा काम गरेको श्रेष्ठले बताउनुभयो । अब हरेक शनिबार सरसफाइ र बाटो सुधारको काम राखेर सिनामङ्गलदेखि पशुपतिनाथ मन्दिरको गेटसम्म गर्ने योजना लायन्स काठमाडौँ बागमतीले जनाएको छ ।