• ६ साउन २०८१, आइतबार

ज्येष्ठहरूका गुनासा (कविता)

blog

छन् छोरा दुई नाति तीन अहिले, छिन् नातिनी भोमिला ।

छन् हाम्रा सुतका बधू पनि अहा ! तारा तथा मोमिला ।।

पूरै शिक्षित शिष्ट सभ्य सबले, भन्छन् प्रशंसा गरी ।

एक्लै छौँ र अशक्त छौँ दुई यहाँ, आधार छन् श्रीहरि !!


पानी अन्न दिने बिमार रहँदा, गर्नेछ को ओखती ?

हामीमा त सुसार गर्छ कसले टाढा भए सन्तति ! 

हुर्कायौँ दुःखले सुसभ्य हुन गै, शिक्षा र दीक्षा लिए ।

केही काम नपाउँदा सुतसुता, जम्मै विदेशै गए ।।


खाडी जर्मन अम्रिका मलसिया, जापान अस्ट्रेलिया ।

कोही फ्रान्स र कोरिया अरब छन्, कोही पुगे क्यानडा ।।

भन्छन् व्यस्त छु कामले फुन अहो, गर्नै त्यहाँ भ्याइन ।

लाष्टै हार्ड छ कम्पनी अगतिलो, जे सोचियो पाइनँ ।।


भन्छन् दाससमान जीवन भयो, पर्देशका सन्तति ।

बारी उर्वर खेत बन्जर हुँदा, ! हाम्रो भयो दुर्गति ।।

झन् उत्पादन न्यून–न्यून रहँदा, आयातकै राज छ ।

छैनन् उद्यम सीप वस्तु नहुँदा, निर्यात निस्सार छ ।।


भ्रष्टाचार लछार लैङ्गिक कडा हिंसा सबै रोकिद्यौ ।

चर्केको महँगी अराजक नहोस्, सर्कारले सोचिद्यौ ।।

केही एलिट मात्र छन् सयलमा, दुःखी र नाङ्गा अरू ।

चिर्दै यो असमानता मुलुकको, जोगाइद्यौ आबरु ।।


रोगी ज्येष्ठ अशक्त दीन पिछडा, लाटा लुला लङ्गडा–

बस्ने देश बन्यो पलायन भई, आशा उषा तेजिला ।।

ठट्टा होइन ‘राजनीति’ अगुवा ! ल्याऊ नयाँ योजना ।

देऊ क्यै सपना युवाजन रहून्, गर्दै नयाँ सिर्जना ।।