• ६ साउन २०८१, आइतबार

मुक्तक

blog

मान्नोस् विचारको सौन्दर्य बलेको छैन अझै

आस्था ब्यूँझाउने जाँगर फलेको छैन अझै

कुँजिएका छैनन् पाइला यात्रा चलिरहेको छ 

हिँड्नु साँच्चै पर्छ अठोटमा गलेको छैन अझै ।       


स्वार्थको पोखरीमा पौडेर भित्रभित्रै हराइरहेछन् 

आफ्नाका बालिनाली आफैँ बसेर चराइरहेछन् 

सक्नुपर्छ हो हेर्न धेरै थोक देख्न पाइँदो रहेछ 

मानुको गुन तिर्न अहिले झण्डा फह्राइरहेछन् । 


आफूलाई भुल्छन् ढुक्कै परचक्री चिन्छन् तर

विश्वास बेचेरै पनि सुन्दर तस्बिर किन्छन् तर

बराजुकै पालोदेखि धानिरहेछन् नि यो परम्परा 

जाँगर जोश बग्दै जान्छ अभिमान लिन्छन् तर ।


इमान जमान दुला पसे बेइमानले डाली पायो

स्वार्थी दम्भी अघि बढे इमानदारले गाली पायो

अन्धकार र कुरूपता जताततै पाइन्छन् अचेल

व्यभिचारका ठेकेदारले सुन्दरशान्त ताली पायो ।