• ११ मंसिर २०८१, मङ्गलबार

काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद : विश्वप्रकाश शर्मा

blog

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा । फाइल तस्बिर

काठमाडौं, भदौ ३ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताउनुभएको छ। 

शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताउनुभएको हो। 

उहाँले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले फोहोर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढङ्गले सोच्नुपर्ने बताउनुभयो। 

महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो।

 महामन्त्री शर्माले भन्नुभयो, ‘शासनहरु बदलिन्छन् । राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ । यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौँ । दलहरुबाट फेरि स्वतन्त्रमा पनि पुग्छौँ। तीन  तहको सरकार हुँदै गर्दा पनि बिहान र साँझको गरेर दुई खेपको फोहोर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो।’’

तीन तहको सरकारले फोहोर उठाउन नसक्नु लज्जाको विषय भएको उहाँको टिप्पणी छ। महामन्त्री शर्माले थप भन्नुभयो, ‘‘मैले अपिल गर्नैपर्छ, भन्नैपर्छ, बिहान एक छाकको साँझ एक छाकको गरेर दुई छाकको फोहोर उठाउन तीन/तीन तहको सरकारले नसक्ने खालको लज्जित अवस्थाबाट यसलाई अन्त्य गर्नुपर्छ।’’

उहाँले समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तह सबै जिम्मवार हुनुपर्ने बताउनुभयो।