• ६ साउन २०८१, आइतबार

तनहुँमा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

blog

साङ्केतिक तस्बिर

अमरराज नहर्की
तनहुँ, भदौ ३ गते ।
तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका –२ कोत्रेस्थित गुहेखोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका बुबा र छोराको मृत्यु भएको छ भने श्रीमती घाइते हुनुभएको छ ।

बिहीबार साँझ साढे ६ बजे सो खोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका पाल्पा जिल्लाको निस्ती गाउँपालिका –५ घर भई हाल सोही नगरपालिकास्थित बङ्गुर फारममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाको छोरा आदी ब्याम्बोको मृत्यु भएको हो । ब्याम्बोकी १९ वर्षीया श्रीमती दिलमाया ब्याम्बो घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार माछा मार्ने क्रममा करेन्ट लागेर तीन जना गम्भीर घाइते भएका थिए । गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा चित्रबहादुर र छोरा आदीको बिहीबार राति साढे ९ बजे मृत्यु भएको थियो । घाइते दिलमायाको उपचार भइरहेको उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।