• ११ मंसिर २०८१, मङ्गलबार

तीनपाटनको अन्न भण्डार बर्सेनि मासिँदै

blog

सिन्धुली समाचारदाता 

तीनपाटन (सिन्धुली), भदौ ३ गते । सिन्धुली जिल्लाको पूर्वी पहाडी क्षेत्रको मुख्य अन्न भण्डार तीनपाटन क्षेत्र चँदाहाखोलोका कटानबाट बर्सेनि मासिँदै गएको छ।  चँदाहाखोलाको कटानबाट तीनपाटन गाउँपालिका–१ र २ अवस्थित तीनपाटन फाँटको एक हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भइसकेको र आधा दर्जन सरकारी कार्यालय असुरक्षित बनेका छन्। 

तीनपाटन गाउँपालिका वडा नं. १ का वडाध्यक्ष गोविन्दबहादुर राउत उक्त वडामा मात्रै दुई वर्षभित्रमा चँदाहाखोलामा आएको बाढीले २० बिघाभन्दा बढी खेत कटान गरी बगरमा परिणत भएको सुनाउनुहुन्छ। उहाँका अनुसार चँदाहाखोलाले तीनपाटन क्षेत्रमा २०२२ सालदेखि कटान गर्न सुरु गरेकोमा २०४१ सालमा सेती पहिरोले हाँडीखोला थुनेपछि फुटेको ‘ड्याम’ले तीनपाटन क्षेत्र सबैभन्दा बढी क्षति भएको थियो। 

“त्यसपछि चँदाहाखोलामा कटानले बर्सेनि निरन्तरता पाइरहेको छ,” वडाध्यक्ष राउतले भन्नुभयो, “चँदाहाखोलाको कटानकै कारण ३८ वर्षको अवधिमा सुकुम्बासी बनेर अढाई सयभन्दा बढी किसान विस्थापित भएर हिँडेका छन्। खोलाले धार परिवर्तन गरी एक–दुई वर्ष वल्लो कुनाबाट र अर्को एक–दुई वर्ष पल्लो कुनाबाट बग्दै आएको छ।”

चँदाहाखोलाको वितण्डाले पाँच सयभन्दा बढी किसान प्रभावित भएका छन्। वडा नं. १ को कार्यालय भवन र चन्द्रावती माविसहित सिङ्गो बेलघारी गाउँ नै असुरक्षित बनेको छ।

त्यस्तै वडा नं. २ को भीमस्थानसहित त्यस क्षेत्रमा रहेको तीनपाटन शिक्षा क्याम्पस, भवानी मावि, वडा कार्यालय, इलाका हुलाक कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र र इलाका प्रहरी कार्यालय असुरक्षित बन्दै गएको छ। 

भएको गरिखाने खेत सबै चँदाहाखोलाले बगाएपछि धेरै किसान गाउँ छाडेर बसाइँ हिँडेको सम्झँदै स्थानीय किसान चन्द्रबहादुर भुजेलले भन्नुभयो, “चँदाहाखोलोका कटान रोक्न पहिले बाँसको भकारी बनाएका थियौँ। त्यो प्रभावकारी हुन सकेन।” 

“शाखा माडीदेखि तिलङ्गेसम्मको सिङ्गो फाँटमा खेतको बीचबाट खोला हिँडेको छ,” किसान भुजेलले थप्नुभयो, “खोला नियन्त्रणका लागि बर्सेनि एक करोड रुपियाँको हाराहारीमा काम हुँदै आएको छ तर त्यो पर्याप्त हुन सकेको छैन।” कटान नियन्त्रणका लागि एकतिर काम ग-यो, अर्कातिर बगाउने गरेको उहाँले बताउनुभयो।

कटान बढ्दै गएपछि सहरी विकास कार्यालयले वडा नं. १ को बेलघारीस्थित झुँगाको दोभानबाट कोरिडोर निर्माण सुरु गरेको छ। गत आर्थिक वर्ष २०७८/७९ मा एक करोड छ लाख रुपियाँको लागतमा ४७४ मिटर लामो कोरिडोर निर्माण भएको कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो।

उहाँका अनुसार चालू आवका लागि कोरिडोर निर्माणका लागि दुई करोड ४५ लाख रुपियाँको कार्यक्रम रहेको छ। बेलघारीमा एकीकृत जग्गा विकास कार्यक्रमका लागि करिब ६५ करोड रुपियाँको डीपीआर बनेको र उक्त कार्यक्रमअन्तर्गत नै कोरिडोर निर्माण गरिएको हो।

तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगर चँदाहाखोला नियन्त्रणका लागि अर्बौं रुपियाँ बजेटको परियोजना आवश्यक रहेको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “चँदाहाखोला कटान नियन्त्रणका लागि गाउँपालिकाकै पहलमा सहरी विकासले झुँगा दोभान र सिँचाइ डिभिजनले शाखामाढी गरी दुवै तिरबाट तटबन्ध निर्माण सुरु गरेको छ।”

गाउँपालिकाले दुई पटक एक करोड रुपियाँ लगानी गरी तटबन्धन निर्माण गर्न लगाएको उहाँले सुनाउनुभयो। “डीपीआर बनाई सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धित मन्त्रालय, राष्ट्रिय योजना आयोगमा पठाएका छौँ तर बर्सेनि झारा टार्ने हिसाबले न्यून बजेट आउँछ। त्यसले केही काम हुनेवाला छैन,” गाउँपालिका अध्यक्ष थापामगरले थप्नुभयो।