• १३ असोज २०८१, आइतबार

नागरिकता विधेयक

नागरिकता विधेयक जस्ताकाे त्यस्तै बहुमतले पारित

blog

बिहीबारको प्रतिनिधिसभा बैठकमा सहभागी सांसद । तस्बिर : संसद सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनःविचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको नागरिकता विधेयकलाई प्रतिनिधि सभाको बैठकले  जस्ताकाे त्यस्तै  बहुमतले पारित गरेको छ । प्रस्तावको पक्षमा सत्तारुढ गठबन्धनको मत परेको थियो भने विपक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका दलले मत जाहेर गरेका थिए ।

राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्तुत गर्नुभएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयकलाई पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई सदनमा निर्णयार्थ पेस गर्नुभयो । प्रस्तावलाई पारित गर्नुभन्दा अघि मतविभाजन गरिएको थियो । सभामुख सोपकोटाले मतविभाजनको परिणाम सार्वजनिक गर्नुभयो । पक्षमा १३५ मत, विपक्षमा ६० मत  परेको छ । सदनमा १९५ जना सांसदको उपस्थिति थियो ।

संसद्का दुवै सदनबाट पारित भइसकेको नागरिकतासम्बन्धी विधेयक साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउनु भएको थियो । तर, राष्ट्रपति भण्डारीले सन्देशसहित साउन २९ गते सो विधेयक पुन: विचारका लागि प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको थियो ।

बैठकमा उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलमा ७९ जना सांसदले भाग लिनुभयो । छलफलपछि गृहमन्त्री खाणले सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिनुभएपछि नागरिकता विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधिसभाले सो प्रस्तावलाई स्वीकृत गरेसँगै अब पुनः सो राष्ट्रिय सभामा छलफलका लागि पेश हुनेछ । राष्ट्रिय सभामा पनि सांसदले धारणा राख्नु भएपछि सो विधेयकको विषयमा सभाले निर्णय लिने छ ।