• ४ जेठ २०८१, शुक्रबार

मध्यपुर थिमिको लोपोन्मुख ‘लायकू भैलः’ नाच

blog

भक्तपुर, भदौ २ गते । साःपारु (गाईजात्रा)को अन्त्यसँगै मध्यपुर थिमिमा विभिन्न नाच प्रदर्शन गरिन्छ । मध्यपुर थिमिमा लोपोन्मुख ‘लायकू भैलः’ नाच मङ्गलबार मध्यरातमा नचाएसँगै सम्पन्न भएको छ । “भैलः प्याख मध्यपुरको मौलिक एवं पौराणिक महत्त्व बोकेको प्राचीन नाच हो, सापारुको भोलिपल्ट भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म चार दिन टोलटोलमा निकालिन्छ,” स्थानीय तुल्सी श्रेष्ठले भन्नुभयो । 

दाग, भुस्या, पोँगा र मुहालीलगायत मौलिक नेवारी बाजाको तालमा भैलः प्याखका देवगणहरू नाच्दै नगर परिक्रमा गर्छन् । नेपालभाषामा लायकूको अर्थ दरबार र भैलःको अर्थ भैरव भन्ने हुन्छ । मध्यपुर थिमीको लायकूबाट निस्किने नाच बालकुमारी मन्दिरपरिसरमा प्रदर्शन गरिएको थियो । तान्त्रिक विधिअनुसार नचाइने भैलः नाच आउने चार दिनसम्म प्रत्येक साँझदेखि राति अबेरसम्म विभिन्न टोलहरूमा प्रस्तुत गरिन्छ । 

भैलः प्याख (नाच)का प्रशिक्षक निरञ्जन श्रेष्ठले नाचमा दुई जना भैलः, दाःगिं (कुमारी) दुई जना र ज्यापुँग एक गरी पाँच देवगण सहभागी हुने जानकारी दिनुभयो । 

भैलःले खड्ग, कुमारीले डमरु र ज्यापुँगःले कपासको बियाँ, अक्षता र चामल भुटेर तयार गरिएको ताय् भएको भाँडो, हातमा लिएर बाजाको तालमा हाउभाउ प्रस्तुत गर्दै नाच्ने गर्छन् । नाचका क्रममा भैलः र दाःगिंले क्रोधित मुद्दा प्रस्तुत हुने गर्छन् । त्यसपछि ज्यापुँगःले ताय्ले हानेर शान्त बनाइन्छ ।

यो जात्राको थालनी मल्लकाललाई मानिने स्थानीय तथा संस्कृतिविद् गणेशराम लाछीले बताउनुभयो । उहाँले यो नृत्यसँग सम्बन्धित कथाले मल्लकालकै सङ्केत गर्ने बताउँदै उहाँले भन्नुभयो, “त्यो समय मध्यपुर थिमी क्षेत्रका जनतालाई भूतप्रेतले अत्यधिक दुःख दिइरहेको रहेछ । डरले गर्दा दिउँसोसमेत खेतमा काम गर्न नसक्ने भएपछि किसानहरू डराए । हाहाकार मच्चियो । जनताहरू दरबारमा राजा गुहार्न गए ।

राजाले तान्त्रिक, विद्वान्, शास्त्रज्ञहरूसँग छलफल गर्दा तान्त्रिक रूपमा भैरवनाथ जगाई क्रोधित मुद्रामा टोलटोलमा नाच निकालेर भूतप्रेतलाई लखेट्ने निर्णय भएछ । यही किंवदन्ती अहिलेसम्म प्रचलित छ ।”