• २९ वैशाख २०८३, मङ्गलबार

‘मेरो प्राथमिकता, अझै राम्रो काम’

blog

अभिनेतृ स्वस्तिमा खड्का

‘होस्टेल रिटन्स’ चलचित्रमार्फत अभिनय यात्रा सुरु गर्नुभएकी अभिनेतृ स्वस्तिमा खड्काले त्यसयता फर्केर हेर्नु परेको छैन । जीवन्त अभिनयबाट दर्शकको मनमस्तिष्कमा बस्न सफल अभिनेतृ खडकालाई ‘ब्युटी विथ ब्रेन’ को उपमा दिँदा फरक पर्दैन । हरेक चलचित्रमा फरक भूमिकामा देखिन रुचाउने उहाँ यतिबेला चर्चामा हुनुहुन्छ चलचित्र ‘लालीबजार’ का कारण । चलचित्रमा बादी समुदायको महिलाको सशक्त भूमिका निर्वाह गर्नुभएकी खड्काले यस चलचित्रलाई चलचित्रको रूपमा मात्र हेर्नुभएको छैन, समाजलाई सन्देश दिने एउटा माध्यम पनि मान्नुभएको छ । चलचित्र र उहाँको कला यात्रामा केन्द्रित भएर अभिनेतृ खड्कासँग गोरखापत्रका सुकृत नेपालले गर्नुभएको कुराकानीको सारसङ्क्षेप–

 चलचित्र ‘लालीबजार’ मा तपाईंको भूमिका कस्तो छ ?

चलचित्रमा मेरो पात्रको नाम ‘मधुवाला’ हुन्छ । जसलाई मैले बर्दियामै रहनुभएका बादी समुदायकी महिलासँग कुराकानी गरेर तयार पारेकी हुँ । मधुवालाले आफ्नो परिवारको जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष नै चलचित्रको मुख्य कथा हो । मेरो अभिनय यात्रामा ‘बुलबुल’ र ‘चिसो मान्छे’ पछि मलाई चिनाउने चलचित्र ‘लालीबजार’ बन्नेमा म ढुक्क छु । मेरो चर्चा हुँदा यी तीन चलचित्रको चर्चा पनि धेरै वर्षसम्म हुने छ । 

 तपाईं आफूलाई सफल नायिका वा सक्षम अभिनेतृमध्ये कुनमा बढी चिनिन चाहनुहुन्छ ?

आफूलाई चिनाउनेभन्दा पनि मेरो पहिलो प्राथमिकता कामप्रतिको सन्तुष्ट हो । कामले नै मलाई आत्मविश्वासी बनाउँछ । मेरो पहिलो प्राथमिकता काम हो । कामबाट नै मेरो मूल्याङ्कन हुने हो । अभिनयले नै मलाई आत्मसन्तुष्टि दिने भएकाले म सुपरस्टार हुने दौडमा लाग्दिनँ । मेरा लागि मैले हिजो जे काम गरेकी थिएँ, त्योभन्दा अझ राम्रा काम गर्दै जाउँ भन्ने हो । यही नै मेरो प्राथमिकतामा पर्छ । 

तपाईंको रोजाइमा बलियो स्क्रिप्ट, अब्बल निर्देशक वा मसला चलचित्रमध्ये कुन प्राथमिकतामा पर्छ ?

एउटा निर्देशकले मात्र चलचित्र बनाउन सक्दैन । एउटा चलचित्रमा ६० देखि ७० जना व्यक्ति सक्रिय हुन्छन् । सहनिर्माणमा काम गर्ने अलग्गै हुन्छन् । छायाङ्कन सकिएपछि पोस्ट प्रडक्सनमा अर्को टिम हुन्छ । अहिले चलचित्र ‘लालीबजार’ को प्रचारका लागि छुट्टै टिम छ । हलसम्म पुग्दा चारदेखि पाँच सयजनाको टिमसँग मिलेर गरिने काम हो यो । त्यसैले मेरो प्राथमिकता भनेको एउटा राम्रो टिम नै हो ।  

 चलचित्रको प्रस्ताव आउनासाथ स्विकार्ने चलन छ ? तपाईंको प्राथमिकता चाहिँ के हो ? 

मेरो पहिलो प्राथमिकता उत्कृष्ट स्क्रिप्ट हो । स्क्रिप्ट अध्ययन गरेपछि मात्र मैले छानेर अभिनय गर्छु । यस विषयमा निर्माता/निर्देशकसँग मेरो दोहोरो कुराकानी हुन्छ । म जस्तो ठाउँमा सबै नहुन सक्नुहुन्छ । कतिपय सङ्घर्षरत र स्थापित हुँदै हुनुहुन्छ होला । नायकको अघिपछि घुम्नेभन्दा पनि स्क्रिप्ट अनुसार आफू सुहाउँदो भूमिकालाई प्राथमिकता दिने हो । 

 राजनीतिमा लाग्ने कलाकारको सङ्ख्या बढी रहँदा तपाईंलाई पनि राजनीतिमा जान रहर लाग्दैन ? 

एउटा भनाइ छ ‘कहिले पनि हुँदैन र गर्दिनँ’ भन्नु हुँदैन । भविष्य कसैलाई थाहा हुँदैन तर अहिलेको समयमा मलाई राजनीतिमा जाने खासै रुचि छैन । १०/१२ वर्षपछि मन बदलिए के थाहा । 

 सेलिब्रेटीले राजनीतिक विचार खुलेर राख्दा ट्रोल हुने डर हुन्छ ? यसरी धारणा राख्नु कति सुरक्षित ठान्नुहुन्छ ?

यसमा तपाईंको उद्देश्य के हो भन्ने कुराले बढी महìव राख्छ किनभने धारणा राख्नकै लागि मात्र हो कि । म पहिला एउटा नागरिक हो त्यसपछि कलाकार । नागरिकको हिसाबले मैले प्रश्न गर्नु पर्छ । कुप्रथाले समाजमा असर गरिरहेको छ भने त्यसमाथि प्रश्न उठाउन पाउनु पर्छ । सरकार त जवाफदेही हुनै पर्छ ।