रमेश विश्वकर्मा
गुल्मी, वैशाख २९ गते। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर– २, मा पर्ने भन्ज्याङ चिमलेपोखरा सडक योजना निर्माण हुन लागेको हुँदा माधा–चिमलपोखरा खण्ड एक महिना बन्द हुने भएको छ। आज (मङ्गलबार)देखि आगामी जेठ २९ गतेसम्म यस खण्डमा सडक बन्द हुन लागेको रुरुक्षेत्र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव पौडेलले जानकारी दिनुभयो।
निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार यसै गाउँपालिका वडा नम्बर–४ स्थित पनरोमा कन्स्ट्रक्सन एण्ड सप्लायर्सका निर्माण व्यवसायीबाट सडक निर्माणको काम हुनेभएको छ। यहाँ निर्माणको काम गर्नका लागि यस खण्डमा निर्माण व्यवसायीले सडक बन्द गर्न आग्रह गर्दै गाउँपालिकामा निवेदन पेश गर्नुभएको थियो।
यस समयावधिमा सडक पूर्ण रूपमा बन्द गर्न लागिएकाले वैकल्पिक सडक प्रयोग गरेर निर्माण कार्यमा सहयोग गरिदिन गाउँपालिकाले अनुरोध गरेको छ। गाउँपालिकाले वडा नम्बर–२ ग्वादी र पनरोमा कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई सडक बन्दको सूचना पाटी राख्नका लागि बोधार्थसहित पत्र पठाउनुका साथै आवश्यक सहयोगका लागि आग्रह गरेको छ।