बनेपा समाचारदाता
बनेपा, वैशाख २९ गते । अरनिको राजमार्ग अन्तर्गत विस्तार भइरहेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाको काममा सुस्तता आएको छ । छ लेनमा विस्तार भइरहेको सो सडकखण्ड मूल्यवृद्धिको कारण देखाउँदै निर्माण व्यवसायीले ढिलाइ गरेका हुन् । निर्माण व्यवसायीले मध्यपूर्वको द्वन्द्वका कारण बिटुमिन (अलकत्रा) तथा निर्माण सामग्री, पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको देखाउँदै सडकका काममा ढिलासुस्ती गरेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाले जनाएको छ ।
निर्माण व्यवसायीले विभिन्न बहानामा काममा गति नदिँदा सडक विस्तार भइरहेको क्षेत्रमा वर्षाको समयमा हिलो र घाम लागेको समयमा धुलोको समस्या देखिएको छ । सूर्यविनायक–धुलिखेल सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले सडक विस्तारको जिम्मा पाएका निर्माण व्यवसायीले मध्यपूर्वको द्वन्द्व र मूल्यवृद्धिको कारण देखाउँदै सडक विस्तारको काममा ढिलाइ गरेको बताउनुभयो । “ढिलासुस्तीका कारण साँगादेखि धुलिखेल सडकखण्ड र सूर्यविनायकदेखि साँगासम्मको खण्डमा कालोपत्रेको काम ठप्प छ,” खनालले भन्नुभयो ।
उहाँले बनेपाको तीनदोबाटोनजिकै अन्डरपास, मेसिनरी पर्खाल लगाउनेबाहेकको काम हुन नसकेको बताउनुभयो । साथै साँगामा निर्माणाधीन अन्डरपास तथा अन्डरपासदेखि भक्तपुरतर्फको एक किलोमिटर सडकमा वर्षाको समयमा अन्डरपासबाट यातायात सञ्चालन गराउने काम भइरहेको बताउनुभयो ।
इन्जिनियर खनालले सडक विस्तार अन्तर्गत हालसम्म काभ्रेपलाञ्चोकतर्फ ७० प्रतिशत र भक्तपुर खण्डमा ५० प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोकतर्फ बनेपा बुडोल र २८ किलो क्षेत्रमा करिब साढे दुई किलोमिटर सडकमा प्राइम गरे तापनि अलकत्रामा भएको मूल्यवृद्धिका कारण काम हुन नसकेको बताउनुभयो । यस्तै भक्तपुरतर्फको खण्डमा सूर्यविनायकदेखि जगातीसम्मको डेढ किलोमिटर सडक ‘डिबिएम’ गरिएको बताउनुभयो ।
मूल्यवृद्धिको कारण देखाउँदै भएको ढिलाइका कारण आयोजनाको काम निर्धारित समयमा हुन नसक्ने अवस्था आउने उहाँले बताउनुभयो । सडक विस्तारको काममा ढिलाइ भएको भन्दै बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले असन्तुष्टि जनाउनुभएको छ । आइतबार मन्त्री बादेले आयोजनाका प्रमुख, निर्माण व्यवसायी र बनेपाका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा आयोजनाको काममा ढिलाइ हुँदा बनेपामा दुई जनाले ज्यान गुमाउनु परेको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।
उहाँले आयोजनाको काममा ढिलाइ हुँदा बनेपावासी हिलो र धुलोको सामना गर्न बाध्य भएको बताउनुभएको थियो । मन्त्री बादेले आयोजना अन्तर्गत भक्तपुरतर्फ एउटा र काभ्रेपलाञ्चोकमा पर्ने दुई वटा पुल निर्माणमा भएको ढिलाइ भएको भन्दै पुलको काम समयमा नै नहुँदा स्कुले बालबालिका र अन्य नागरिकले समस्या भोग्नु परेको बताउनुभयो ।
छलफलमा बनेपा नगरक्षेत्रभित्रका सर्भिस लेन तथा सहायक सडक बिनाअवरोध निर्बाध रूपमा सञ्चालन तथा निर्माण हुने व्यवस्था मिलाउने सम्बन्धमा सडक आयोजना र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् । त्यसै गरी बनेपास्थित पुण्यमाताखोला पुल तथा भैँसीपाटीखोला पुल निर्माणका क्रममा अवरुद्ध सर्भिस लेन र सहायक मार्ग पुनः सञ्चालन हुने गरी आवश्यक निर्माण तत्काल गर्ने निर्णय गरिएको छ ।
अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी साढे तीन वर्षदेखि सडक विस्तार हुँदै आएको छ । सूर्यविनायकदेखि साँगासम्मको ७.३ किलोमिटर सडक निर्माणका लागि आशिष कुमार श्रेष्ठ/बन्धन/भगवती जेभीसँग तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँको लागतमा २०७९ पुसदेखि काम हुँदै आएको छ ।
यस्तै काभ्रेपलाञ्चोकतर्फ साँगादेखि धुलिखेलसम्मको ८.५ किलोमिटर सडक निर्माणका लागि लामा कन्स्ट्रक्सनसँग चार अर्ब पाँच करोड ६४ लाख रुपियाँमा ठेक्का सम्झौता गरी २०७९ मङ्सिरदेखि सडक विस्तारको काम हुँदै आएको छ ।
साँगादेखि धुलिखेलसम्मको जिम्मा पाएको लामा कन्स्ट्रक्सनको सम्झौता २०८२ मङ्सिरमा सकिएर आगामी मङ्सिरसम्मका लागि र सूर्यविनायकदेखि साँगासम्मको सडकको जिम्मा पाएको आशिष कुमार श्रेष्ठ/बन्धन/भगवती जेभीको सम्झौता २०८२ पुसमा सकिएर आगामी पुससम्म म्याद थप गरिएको छ ।