गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २९ गते । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले डेढ महिनामा ८६ हजार ७०२ सवारीचालकलाई कारबाही गरेको छ । १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेका चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छ महिना निलम्बन गर्न यातायात कार्यालयमा पठाएको छ । लापर्बाहीपूर्ण सवारी चलाउनेमध्ये ३१ जनाको लाइसेन्स निलम्बनका लागि पठाइएको कार्यालयले जनाएको छ ।
कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरिक्षक नवराज अधिकारीले भन्नुभयो, “यही महिना मात्र लापर्बाही गरेर सवारी चलाउनेका ३१ वटा लाइसेन्स निलम्बनका लागि पठाएका छौँ । लापसे/मापसे गरेर १५/२० पटकसम्म दोहोरिएपछि निलम्बन गर्न पठाइएको हो ।”
ट्राफिक प्रहरी कार्यालयका अनुसार झन्डै डेढ महिनामा ८६ हजार ७०२ चालकलाई कारबाही भएको छ । मादक पदार्थ सेवन गर्ने चार हजार ४५२ र लेन अनुशासन उल्लङ्घन गर्ने सात हजार ७५८ चालकलाई कारबाही भएको छ । तीव्र गतिमा चलाएका दुई हजार ७२७ चालक कारबाहीमा परेका छन् ।
त्यस्तै रातो बत्तीमा सवारी चलाएका सात हजार ७२४, स्वरूप परिवर्तन गरेका ११२, बढी भाडा असुल्ने र लापसे गर्ने ५२ चालक कारबाहीमा परेका छन् । यान्त्रिक ठिक नभएका ७६६, प्रदूषणमा २४६, राइड सेयरका पाँच हजार ८४८, अनावश्यक हर्न बजाउने दुई हजार ४६५, लाइसेन्सबिना सवारी चलाएका दुई हजार ५५८ चालकलाई कारबाही भएको छ ।
ट्राफिक प्रहरीको कारबाहीबाट यस अवधिमा छ करोड ३९ लाख २८ हजार ५८५ रुपियाँ राजस्व सङ्कलन भएको छ । भिआइपीदेखि नेपाल पुलिसका सवारीसम्म कारबाहीमा परेको प्रमुख अधिकारीले बताउनुभयो ।
५० लाखभन्दा बढी जनसङ्ख्या रहेको काठमाडौँ उपत्यकामा दैनिक १८ लाखभन्दा बढी सवारी सञ्चालन हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले चोरी भएर भेटिएका ६५ वटा दुईपाङ्ग्रे सवारी पनि आइतबार सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।
काठमाडौँको बबरमहलबाट हराएको ३५ लाख मूल्य बराबरको मोटरसाइकल दुई हप्तापछि कालोपुलमा भेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।