• ६ साउन २०८१, आइतबार

बसपार्क सञ्चालनमा ल्याउने प्रयास

blog

यादवराज पुरी

रौतहट, भदौ २ गते । चन्द्रपुर नगरपालिकाले अलपत्र अवस्थामा रहेको बसपार्क पुनः प्रयोगमा ल्याउन पहल भएको छ। चन्द्रपुर नगरपालिका–४ टेकानमा रहेको बसपार्क पछिल्लो समयमा प्रयोगविहीन भएपछि विभिन्न आलोचना खेप्दै आएको नगरपालिकाले पुनः सञ्चालनमा ल्याउन पहल गरेको हो। 

सदरमुकाम गौरबाट बाहिरिने र भित्रिने करिब ३०/३५ वटा बसका लागि स्थानीयको सहयोगमा बसपार्क बनाइएको हो। २०६९ सालमा निर्माण सम्पन्न उक्त बसपार्क बाजागाजा, बसको लावालस्कर र तामझामसहित उद्घाटन भएको थियो। “उद्घाटन पश्चात् करिब एक वर्ष त्यहाँ बस पार्क प्रयोगमा आयो। त्यसपछि बसको ब्याट्रीलगायत पार्टपुर्जा चोरी हुने र बसका कर्मचारीलाई दुव्र्यवहार गर्ने जस्ता क्रियाकलापले बस व्यवसायी हैरान हुन थाले,” बस व्यवसायी सङ्घ रौतहटका अध्यक्ष रामाशङ्कर गिरीले भन्नुभयो, “असुरक्षाको कारण सो बस पार्कमा सवारीसाधन राख्ने काम पनि बन्द भयो।”

करिब नौ वर्षदेखि बसपार्क प्रयोगविहीन रहँदा पूर्व–पश्चिम राजमार्ग र गौर–चन्द्रपुर सडकको चन्द्रनिगाहपुर चोकमा जथाभावी बस रोक्न थालेपछि नगरपालिकाले विभिन्न आलोचना खेप्दै आएको थियो। चोकमा जथाभावी बस रोकिँदा एकातिर दुर्घटनाको सम्भावना अधिक रहँदै आएको छ भने अर्कोतिर सडक साँघुरो हुँदा स्थानीय, पैदल यात्री र व्यापारीलाई समस्या परेको छ। 

चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले उक्त समस्यालाई दृष्टिगत गर्दै बन्द रहेको बसपार्क पुनः सञ्चालनमा ल्याउन र ‘बस होल्डिङ सेन्टर’ निर्माणको पहल गर्ने बताउनुभयो।

जथाभावी बस रोकिँदा दुर्घटनाको अधिक सम्भावना, सर्वसाधारणलाई परेको मर्का र नगर अस्तव्यस्त देखिने भएकोले सवारी होल्डिङ सेन्टर बनाउने भन्दै सो बन्द अवस्थामा रहेको बसपार्क पुनः सञ्चालनमा ल्याउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार चाँदी नदी छेउमा रहेको राष्ट्रिय वनको उपयोगविहीन जमिनमा होल्डिङ सेन्टर राख्न डिभिजन वन कार्यालय रौतहटसँग समन्वय भइसकेको छ। 

बसपार्क पुनः सञ्चालनमा आउने भएपछि स्थानीय व्यापारी, उपभोक्ता तथा पैदल यात्रीले खुसी व्यक्त गरेका छन्। ट्राफिक व्यवस्थापन सहज हुने र राजमार्गमा बस बिसौनी कम हुने भएपछि दुर्घटना न्यूनीकरण हुने जिल्ला ट्राफिक कार्यालय रौतहटले जनाएको छ।