• ६ साउन २०८१, आइतबार

चुहाहट नियन्त्रण र शुद्धीकरणमा जोड

blog

मकवानपुर समाचारदाता

हेटौँडा, भदौ २ गते । हेटौँडा उपमहानगर क्षेत्रभित्र खानेपानी वितरण गर्दै आएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले वितरण गर्दै आएको खानेपानीको शुद्धीकरणमा जोड दिने भएको छ । विगतमा खानेपानी वितरणलाई प्राथमिकता दिँदै आएकोमा चालू आर्थिक वर्ष २०७९/८० मा बोर्डले वितरण गर्ने खानेपानीको शुद्धीकरणलाई प्राथमिकतामा राख्ने नीति लिएको छ । 

बोर्डको गत आवको आम्दानी र खर्च एवं चालू आवको कार्यक्रम र बजेटका बारेमा जानकारी दिन बुधबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा बोर्डले उत्पादन गरी वितरण गर्ने पानीको गुणस्तर र सुरक्षाका लागि योजना ल्याएको जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रताप विष्टले बोर्डको सेवा क्षेत्रभित्र रहेका पाँचवटा उत्पादन तथा वितरण केन्द्रमा डोजिङ प्लान्ट र सेन्सर डोजिङ प्लान्ट जडान गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । पानीको गुणस्तर कायम गर्न प्रयोगशाला निर्माण गरिएको र पानी उत्पादन केन्द्र तथा संरचनाको सरसफाइलाई निरन्तरता दिइने जानकारी दिँदै पानीको अभाव हुन नदिन पुनरभरण (रिचार्ज) पोखरी निर्माण गरिने सुनाउनुभयो । 

बोर्डले चालू आवमा खानेपानी शुद्धीकरणका लागि पानीको गुणस्तर तथा सुरक्षा योजनाका लागि १२ लाख ५० हजार रुपियाँ र पुनरभरण (रिचार्ज) पोखरी निर्माण गर्न १० लाख रुपियाँ विनियोजन गरेको बोर्डका सदस्य इन्द्र नेपालले जानकारी दिनुभयो । बोर्ड सदस्य नेपालले गत आवमा खानेपानी चुवाहट १२ प्रतिशत रहेको भन्दै गत आवको असार मसान्तसम्ममा ११ करोड तीन लाख ८१ हजार रुपियाँ बिलिङ भएकोमा १० करोड ८४ लाख ८९ हजार रुपियाँ महसुल सङ्कलन भएको बताउनुभयो । सो अवसरमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले बोर्डले खानेपानी वितरण विस्तार गर्नु आवश्यक भएको भन्दै उपमहानगरपालिकाले नगरवासीको खानेपानी उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न लागेको बताउनुभयो ।

उपमहानगरपालिकाले भदौ महिनाबाट लागू हुने गरी बोर्डअन्तर्गत रहेका धारामार्फत खानेपानी उपभोग गर्दै आएका गार्हस्थ्य उपभोक्तालाई मासिक १० हजार लिटर खानेपानी उपयोगबापत लाग्ने न्यूनतम शुल्क मिनाहा गरेको छ ।