• ६ साउन २०८१, आइतबार

पार्टी एकता संयोजन समिति बन्छ : अध्यक्ष दाहाल

blog

पत्रकारसँग कुरा गर्नुहुँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ।

काठमाडौं, साउन ३१ गते। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता संयोजन समिति बन्ने बताउनुभएको छ। पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले नेकपा (एकीकृत समाजवादी) सँग सो समिति बनाउने विषयमा कुरा भइसकेको जानकारी दिनुभयो।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी एउटै चुनाव चिह्नबाट मंसिर ४ गते हुने संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताउनुहुँदै अध्यक्ष दाहालले भट्टराई नेतृत्वको पार्टी गठबन्धनभित्रै रहेको बताउनुभएको हो। उहाँले भन्नुभयो, “सिट बाँडफाँट सल्लाहले नै गछौं। उहाँहरुले गठबन्धन छोड्नुभएको छैन। जसपामा हुँदा उहाँहरु समेत गठबन्धनमा सहभागी भएको हो। गठबन्धनले उहाँहरुलाई निकालियो भनेको पनि छैन।” 

यसको आधिकारिकता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग रहेको भन्नुहुँदै उहाँले यसबारेमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि सल्लाह गरिने भनाइ राख्नुभयो।

उहाँले आगामी संघीय निर्वाचनपछि एउटै केन्द्र बनाउने समझदारी भएको उल्लेख गर्नुभयो। अध्यक्ष दाहालले भन्नुभयो, “चुनाव पछाडि एउटै केन्द्र बनाउने समझदारीमा गएका छौं। नेपालको राजनीतिमा देशको परिवर्तन संस्थागत गर्ने, आर्थिक समृद्धिको यात्रामा लैजाने हो।” अरु वाम शक्तिलाई पनि समेटेर अघि बढ्ने उहाँले बताउनुभयो।

उहाँले त्यसरी बन्ने केन्द्रको नाम ‘नेकपा’ वा अरु केही पनि रहन सक्ने भन्नुहुँदै धेरै ठक्कर खाएका नेताको बुद्धि आएको र अब देशले दुःख पाएको अवस्थामा सबैसँगै लिउर जाने कोसिस हुने भनाइ राख्नुभयो।