काठमाडौं, साउन ३१ गते । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) महाँकाल चौर शाखामा कार्यरत सिनियर प्लम्बर पाँच हजार घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग लिएको पाँच हजार घुस रकमसहित सिनियर प्लम्बर गणेशबहादुर खुलाललाई मङ्गलबार पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले काठमाडौं महानगरपालिका–६ महाँकाल चौरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालयको कार्यकक्षबाटै खुलाललाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
अख्तियारका अनुसार खुलालले खानेपानी धारा जडानका लागि घुस माग गरेको भन्ने सूचना एवम् उजुरी सेवाग्राहीले दिएका थिए ।
सोही सूचनाको आधारमा परिचालित हुँदा खुलाल घुस रकमसहित पक्राउ परेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।