• ६ साउन २०८१, आइतबार

जनशक्ति अभावमा कोभिड अस्पताल बन्द

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, साउन ३१ गते । सिन्धुली जिल्लामा पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण दैनिक रूपमा बढिरहँदा कोभिड अस्पताल भने जनशक्तिको अभावमा बन्द अवस्थामा रहेको छ। दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिरहेको बेलामा बागमती प्रदेश सरकार, स्थानीय तह र जनस्तरबाट रकम सङ्कलन गरेर निर्माण गरी सञ्चालनमा आएको उक्त अस्पताल जनशक्तिको अभावमा यतिखेर आठ महिनादेखि बन्द रहेको हो।

करिब तीन करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको ५० शय्याको उक्त अस्पताल बन्द हुँदा कोरोना सङ्क्रमित बिरामीलाई होम आइसोलेसनमा बस्नुपर्ने र गम्भीर बिरामीलाई राजधानी काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको सिन्धुली अस्पतालले जनाएको छ। सिन्धुली अस्पतालको युनिटका रूपमा रहने गरी निर्माण गरिएको कोभिड अस्पताल सञ्चालनका लागि स्वास्थ्यकर्मीको अभाव हुँदा कोरोनाका बिरामीको उपचारका समस्या भएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोख्रेल बताउनुहुन्छ।

बजेट अभावमा कोभिड अस्पतालमा कार्यरत कर्मचारी धान्न नसकेपछि कर्मचारीलाई बिदा गरी पूर्ण रूपमा बन्द गरिएको उहाँको भनाइ छ। अस्पतालका अनुसार जिल्लामा यतिखेर ४९ जना कोरोना सङ्क्रमित होम आइसोलेसनमा बसेर उपचाररत छन्। कोभिड अस्पतालमा भर्ना गरिएका डाक्टर, स्टाफ नर्स र अन्य स्वास्थ्यकर्मी गरी ४९ जना कर्मचारीलाई तलब भत्ता दिन नसकेपछि बिदा गरिएको थियो। 

प्रदेश सरकार र स्थानीय तहहरूले आवश्यक खर्च व्यवस्थापन गर्ने भनिए पनि अहिले आएर चासो नदेखाएपछि  बन्द गर्नुपरेको अस्पतालका अध्यक्ष पोख्रेलको गुनासो छ। उहाँका अनुसार अस्पतालमा यतिखेर अक्सिजन प्लान्ट मात्रै सञ्चालनमा छ।