• १५ वैशाख २०८१, शनिबार

ट्राफिक नियम उल्लघंन गर्ने ११८ जना बिद्यार्थी कारबाहीमा

blog

विशेष चेकिङ गर्दै ट्राफिक प्रहरी । तस्बिर : ट्राफिक प्रहरी कार्यालय

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ३० गते । ट्राफिक नियम उल्लघंन गर्ने ११८ जना बिद्यार्थी कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीको विशेष चेकिङमा सोमबार बिहान मात्रै कलेजका ११८ जना बिद्यार्थी कारबाहीमा परेको हुन् । 

ट्राफिक प्रहरीको चेकमा सवारी चालक अनुमती पत्र नभएका, सवारी दर्ता किताब नभएका र अन्य ट्राफिक नियम उल्लघंन गर्ने विद्यार्थी कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार कारबाही पर्ने सबै बिद्यार्थीमा दुई पांग्रे सवारी साधनका चालक हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको गत वर्षको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकाभित्र १० हजार ७३३ सवारी साधन दुर्घटना भएको देखिन्छ । 

जसमध्ये आठ हजार ३६४ वटा दुई पाङ्ग्रे सवारी साधन मात्रै रहेको छ । तथ्यांकअनुसार सवारी दुर्घटनामा परि १९१ जनाको मृत्यु भएको छ भने, दुई पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै ११७ जनाको मृत्यु भएको छ । जसमा ५८ जना पैदल यात्री हुन् । मृत्यु हुनेमा अधिकांश दुई पाङ्ग्रे सवारी साधन प्रयोगकर्ता छन् । 

ती सवारी दुर्घटनामा १७ वर्षदेखि ३५ वर्ष उमेर समुहका मानिसको मृत्यु भएको देखिन्छ । यसरी सबैभन्दा धेरै दुर्घटनामा पर्नेमा दुई पाङ्ग्रे सवारी साधन देखिएकाले दुर्घटना न्यूनिकरण गर्नका लागि ट्राफिक प्रहरीले विशेष अभियान नै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही सुरु गरेको प्रवक्ता भट्टले बताउनुभयो ।