• १६ चैत २०८०, शुक्रबार

चिकित्सकहरु दुर्गममा गएर सेवा दिन चाहँदैनन : स्वास्थ्यमन्त्री खापुङ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ३० गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरु दुर्गममा गएर सेवा दिन तयार नभएको बताउनुभएको छ । नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको स्वास्थ्य बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।  

उहाँले भन्नुभयो, “दुर्गमका धेरै सरकारी अस्पतालमा चिकित्सक नपुगेको गुसासो छ । तर त्यति नै मात्रामा चिकित्सक जागिर नपाएको गुनासो गर्दै मन्त्रालयमा पुग्ने गर्नुभएको छ । बेरोजगार चिकित्सकलाई सेवा सुविधा दिन्छौँ भन्दा दुर्गममा गएर सेवा दिन चाहनुहुन्न ।” 

सबै जना काठमाडौंलगायतका ठूला सहरमा सेवा दिन मन पराउने भएकाले दुर्गममा आधारभुत स्वास्थ्य सेवा दिन मुस्किल परेको उहाँले चर्चा गर्नुभयो । कार्यक्रममा मन्त्री खापुङले स्वास्थ्य बीमा कार्यक्रमका विषयमा पछिल्लो बिवाद चाँडै समाधान हुने बताउनुभयो । 

चालु आर्थिक वर्षको बजेट भाषणमा निजी अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नदिने उल्लेख गरेपछि यसको चौतर्फी बिरोध भइरहेको छ । 

सो विषयलाई सम्बोधन गर्दै मन्त्री खापुङले त्यसबारे मन्त्रिपरिषदमा छलफल भइरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “बीमा ऐनले स्वास्थ्य बीमा बोर्डलाई स्वतन्त्र रुपमा व्याख्या गरेको छ । बजेट घोषणामा स्वास्थ्य बीमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालबाट मात्रै सञ्चालन गर्ने भनिएकाले अहिले विरोध भएको छ, यो विषयमा सदनभित्र छलफल भैरहेको छ ।” छलफल पछि मात्र कार्यान्वयनमा आउने बताउनुहुँदै उहाँले सो विषय छलफलपछि मात्र क्याबिनेटबाट निर्णय हुने बताउनुभयो । 

बीमामा देखिएका समस्याको समाधान गर्न मन्त्रालयले राज्यमन्त्रीको संयोजकत्वमा कार्यदल गठन गरेको पनि मन्त्री खापुङले बताउनुभयो । बीमा कार्यक्रम जुन उद्देश्यले ल्याइएको हो त्यहीअनुसार अगाडि लैजाने उल्लेख गर्दै उहाँले सबै नेपालीलाई बीमा कार्यक्रममा आवद्ध हुन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “बीमा कार्यक्रममा धेरै समस्या छन्, तर त्यहाँ भएका समस्याको साधन र स्रोतको उपयोग गरेर समाधान गर्दै लैजाने उहाँको भनाइ छ । बीमा कार्यक्रम सरकारको कार्यक्रम भएकाले सबै नेपाली यसमा आवद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।