• ६ साउन २०८१, आइतबार

भारतमा चौध हजारभन्दा बढी कोरोना सङ्क्रमित

blog

काठमाडौं, साउन ३० गते । भारतमा एकै दिन १४ हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार ९१७ नयाँ सङ्क्रमित भएका हुन् ।

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख ६८ हजार ३८१ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार ५०८ रहेको छ ।

कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ३२ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म पाँच लाख २७ हजार ६९ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १४ हजार २३८ जना कोरोना मुक्त भएका छन् । यसैसँगै  कूल चार करोड ३६ लाख २३ हजार ८०४ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब आठ करोडभन्दा बढी मात्रा खोप लगाइएको छ ।

भारतमा कोरोना शुरु भएयता हालसमम ८८ करोडभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।  रासस/सिन्ह्वा