• १५ चैत २०८०, बिहिबार

पाकिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १९६ पुग्यो

blog

बालुचिस्तान, साउन ३० गते । पाकिस्तानको बालुचिस्तानमा वर्षाजन्य घटनामा परी थप आठ जनाको मृत्यु भएको छ । योसँगै पछिल्लो प्राकृतिक प्रकोपमा परी पाकिस्तानमा मृत्यु भएकाहरुको सङ्ख्या १९६ पुगेको छ । मृत्यु भएका मध्ये ९६ जना पुरुष रहेका छन भने ४५ जना महिला छन् । त्यसैगरी, ५५ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ ।

वर्षाका कारण बालुचिस्तानका धेरै ठाउँमा आएको बाढी पहिरोकाले मानवीय र भौतिक क्षति गरेको छ । बाढी पहिरोका कारण पछिल्लो तीन दिनमा ८१ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । 

प्राकृतिक प्रकोपमा परी एक लाख सात हजार ३७७ पशु चौपायाहरु पनि परेको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । बलुचिस्तानको बोलान, क्वेटा, झोव, डाक्की, खुज्डर, कोलु, केच, मस्तुङ, हर्नाइ, क्विला साइफुल्लाह र सिब्बीमा बाढी पहिरोले मानवीय क्षति गरेको हो ।   

बाढी पहिरोले सडक यातायात सेवा, विद्युत, सञ्चारलगायतका सेवा पनि प्रभावित भएका छन् । ती सेवा सुचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरुको भनाइ छ ।

बाढी पहिरोले मानिसहरु बस्ने घरहरुमा पनि ठूलो क्षति पुर्‍याएकाले क्षतिग्रस्त घरका बासिन्दा विस्थापित भएका छन् । उनीहरुलाई अस्थायी शिविरमा राखिएको छ । स्थानीय एक अधिकारीका अनुसार क्विला साइफल्लाहमा मात्रै झण्डै १२० घर क्षतिग्रस्त भएको पाइएको छ । त्यसैगरी, अन्य ठाउँमा अरु दुई सय घर क्षतिग्रस्त भएको अधिकारीहरुले जनाएका छन् । रासस/एएनआई