• २० वैशाख २०८१, बिहिबार

खयरभारानीमा दर्शन गर्नेको घुइँचो

blog

ठाकुरप्रसाद आचार्य

खयरलेक (म्याग्दी), साउन ३० गते  । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरलेकमा रहेको प्रसिद्ध धार्मिकस्थल खयरभारानीको दर्शन गर्दा मनोकामना पूरा हुने विश्वासमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ। शुक्रबार परेको जनैपूर्णिमाका दिन सयौँको सङ्ख्यामा पुगेका झक्तजनले खयरभारानीको दर्शन गरेका छन्। 

समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा रहेको खयरताल र छेवैमा खयरभारानी देवीथान रहेको छ। खयरलेक धार्मिक एवं प्राकृतिक रूपमा प्रसिद्ध छ। यो अन्नपूर्ण हिमालको फेदीमा पर्दछ। सदरमुकाम बेनीदेखि तीन दिनको पैदल यात्रापछि खयरलेक पुग्न सकिन्छ। जनैपूर्णिमाका दिन खयरभारानीको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास छ। शुक्रबार खयरभारानीको दर्शन गर्न करिब सात सय भक्तजन पुगेको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संरक्षक राजु पुनले जानकारी दिनुभयो। उहाँका अनुसार म्याग्दी, पर्वत, बागलुङ, कास्की र काठमाडौँलगायतका जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजन आएका थिए। कोषले दर्शन र पूजाको सम्पूर्ण व्यवस्था मिलाएको थियो। 

कोरोना सङ्क्रमणका कारण गएका दुई वर्ष खयरभारानीको दर्शनका लागि भक्तजनको 

सङ्ख्यामा कमी भएको र यस वर्ष ठूलो सङ्ख्यामा भक्तजन आएको उहाँले बताउनुभयो। खयरखोलामा आएका भक्तजन र पर्यटकका लागि कोषले बसोबासको व्यवस्था मिलाएको उहाँले बताउनुभयो। 

“मेरो सन्तान भएका थिएनन्, १० वर्ष पहिला सन्तान हुन् भनेर वर माग्न यहाँ आएकी थिएँ,” दर्शनार्थी निर्मला भण्डारीले भन्नुभयो, “खयरभारानीसँग सन्तान हुन् भनेर मागेको वर पूरा भएपछि फेरि दर्शन गर्न आएकी हुँ।” खयर भारानीको दर्शन गरी वर मागेपछि पूरा भएमा फेरि वर फिर्ता गर्न आउने प्रचलन छ। 

कसैले छोराछोरी, कसैले धनसम्पत्ति, कसैले सुखशान्ति, सुस्वास्थ्य, कसैले वैदेशिक रोजगारी तथा सेनामा भर्तीको वर माग्छन्। आफूले माग्न चाहेको वर यहाँका पुजारीलाई भनेपछि पुजारीले चिच्याउँदै वर मागिदिने प्रचलन छ। 

भारानीको दर्शन गर्ने आफ्नै मौलिक विधि छ। जनैपूर्णिमाका दिन ध्वजा, अक्षता, फूल, गहना, सुनचाँदी, नरिवल र पाठा चढाउँछन्। यसपालि दुई सय २० वटा पाठाको बलि दिएको कोषले जनाएको छ। 

खयरखोलामा बास बसेका भक्तजनले भोलिपल्ट बिहानै खयर लेकको यात्रा सुरु गर्दछन्। खयरलेकदेखि तल रहेको धोतीखोलामा चोखो हुनुपर्दछ। लगाएका वस्त्र झिकेर नयाँ वा सफा लुगा लगाउनुपर्दछ र धोतीखोला तरेर जानुपर्दछ। अन्नपूर्ण हिमालको दृश्यसहित सयौँको सङ्ख्यामा रहेका भक्तजनसँगैको उकालो यात्रा निकै रमाइलो हुन्छ। भक्तजनका लागि सहज होस् भनेर पाउद्वारवासीले अप्ठ्यारो स्थानमा पदमार्ग र चौतारा निर्माण गरेका छन्। 

प्राकृतिक हिसाबले खयर क्षेत्र सुन्दर छ। खयर क्षेत्रबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खला आँखै अघि देख्न सकिन्छ। ताल करिब १० हजार वर्गमिटरमा फैलिएको छ। यो ताल कहिल्यै सुक्दैन तर पानीको मूल पनि देखिँदैन। तालको छेवैमा खयरभारानीको थान रहेको छ। २०६९ सालमा थानको पुनर्निर्माण गरिएको हो। तालमा भेटिएको अनौठो शिलालाई भारानीको प्रतीक मानेर थानभित्र प्रतिस्थापन गरिएको छ। 

पहिलो पटक खयर क्षेत्रको पदयात्रामा आउनुभएका बेनीका विमल रिजालले वास्तवमै यो क्षेत्र स्वर्गको टुक्रा जस्तै भएको अनुभव  सुनाउनुभयो। म पहिलो पटक खोप्रा र खयरताल आइपुगेँ, उहाँले भन्नुभयो, “कठिन यात्रा भए पनि यहाँ आइपुगेपछि सबै दुःख, थकान बिर्साउने प्राकृतिक स्थल रहेछ।”