• १३ वैशाख २०८१, बिहिबार

सुगममा बसोबास रित्तिँदै गाउँ

blog

नवराज श्रेष्ठ 

रामेछाप, साउन ३० गते । रामेछाप जिल्लाको मन्थली नगरपालिका–३, कठजोरस्थित पुरानागाउँ रित्तिन थालेको छ। जिल्ला सदरमुकाम मन्थलीबाट लगभग १४ किलोमिटर दूरीमा रहेको यो गाउँका बासिन्दा खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात, रोजगारीलगायतका भौतिक सुविधा नभएको भन्दै सुगम ठाउँ सदरमुकाम मन्थली र राजधानी काठमाडौँमा स्थानान्तरण भएका छन्। 

गाउँ छाड्ने क्रम बढेपछि बरुवाल, सुवेदी, बस्नेत, खड्का, गिरी जातिको बसोबास रहेको पुरानागाउँको बस्ती नै रित्तो हुँदै गएको छ। यो गाउँमा ४० देखि ५० घरपरिवारको बसोबास थियो। अहिले एक तिहाइ घरपरिवारको पनि यहाँ बसोबास छैन। पुरानागाउँमा अहिले जम्मा १३ घरपरिवारको बसोबास रहेको स्थानीय कुमार बरुवालले बताउनुभयो। 

“गाउँमा खानेपानी, यातायात, रोजगारी र खेतीयोग्य जमिन छैन, शिक्षा र स्वास्थ्य सेवा लिन पनि अर्को वडामा धाउनुपर्छ। यसले गर्दा यहाँका अधिकांश बासिन्दा अन्यत्रै गइसके,” उहाँले भन्नुभयो। उहाँका अनुसार पुरानागाउँमा सडक खनिएको छ तर समयमै मर्मतसम्भार नहुँदा अहिलेसम्म यातायातका साधन चल्न सकेका छैनन्। 

२०७२ सालको भूकम्पअघि केही घरपरिवार मात्रै अन्यत्रै गए पनि भूकम्पपछि धेरै घरपरिवारले गाउँ छाडेकाले बस्ती खाली हुने अवस्थामा पुगेको अर्का स्थानीय जनक सुवेदीले बताउनुभयो। “कतिले भूकम्पपछि पनि नयाँ घर बनाएर ताल्चा मारेर राखेका छन्, गाउँ छाडेर गएकाहरू दशैँ, तिहारलगायतका चाडपर्वमा समेत गाउँ आउँदैनन्,” उहाँले भन्नुभयो। गाउँ छाडेर अन्यत्रै बसेका स्थानीयवासी चुनावमा भोट हाल्न भने गाउँमा आउने गरेको उहाँले बताउनुभयो।  

सुविधा खोज्दै हिँडेका स्थानीयवासीले बसाइँसराइ कागजात भने नलगेको मन्थली नगरपालिका–३ का वडाध्यक्ष कृष्णगोपाल थापाले बताउनुभयो। गाउँगाउँमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिजुली, पूर्वाधारको विकास राम्रै छ तर अझै पनि गाउँलेलाई घरगाउँमा फर्काउन कठिन भएको उहाँले बताउनुभयो। पुरानागाउँका अधिकांश नागरिकको रामेछाप सदरमुकामसमेत रहेको मन्थली नगरपालिका–१ को सानीमदौलगायतका स्थानमा घरखेत भएकाले पनि धेरैले वर्षमा दुईदेखि तीन महिना गाउँ बस्ने गरेको दाबी उहाँले गर्नुभयो। 

यहाँका बालबालिकालाई पढ्नका लागि गाउँमै विद्यालय नभए पनि मन्थली नगरपालिका–२ मा रहेको नीलकण्ठेश्वर मावि र स्वास्थ्य सेवा लिन कठजोर स्वास्थ्य चौकीमा पैदल १५ मिनेट हिँड्दा पुगिने उहाँले बताउनुभयो।