• ८ वैशाख २०८१, शनिबार

हरियो र साउन

blog

भाइबहिनीहरू, साउन महिना धेरै रमाइलो महिना हो नि तिमीहरूलाई पनि थाहा छ । यो महिनामा जताततै हरियाली देखिन्छ । मौसम पनि रमाइलो हुन्छ । यो महिनालाई भगवान् शिवको उपासन गर्ने महिनाका रूपमा लिइने हुँदा धार्मिक आस्था र विश्वासका रूपमा पनि झन् रमाइलो लाग्ने महिना हो । 

सबैभन्दा रमाइलो त यो महिनामा हरियो लुगा लगाउने, हरियो शृङ्गार गर्ने पनि गरिन्छ । यसले वरपरको वातावरण नै मनमोहक र रमाइलो हुन्छ । ससाना केटाकेटी पनि हातमा हरियो, पहेँलो चुरा अनि हरियो डे«स लगाएर हिँडेको देखिन्छ । ठूलो मान्छेले पनि सानोले पनि लगाएको देख्दा वरपरको माहोल नै हरियाली देखिन्छ । साउन महिनालाई भगवान् शिवको प्रिय महिनाका रूपमा मानिँदै आइएको छ । यो महिनामा नदी वा तलाउको पवित्र जल शिवलाई अर्पण गरेमा शिवको असिम कृपा प्राप्त हुने धार्मिक मान्यता रहँदै आएको छ । त्यसैले महिलाहरूको शिव मन्दिरमा धेरै नै भीड पनि देखिन्छ । घरमा महिलाले पूजा गरेपछि सबै परिवारमा आशीर्वाद मिल्छ । परिवारलाई नै राम्रो हुन्छ । 

 भाइबहिनीहरू  साउनमा हिन्दु धर्ममा विश्वास गर्नेहरूले किन हरियो रङ लगाउने गर्छन् त यसको कारण पनि जानी राखौँ है ।  विशेष गरी विवाहित महिलाले हरियो रङको चुरा, पोते, सारी वा हरियो रङ धारण गर्दा भगवान् शिव  प्रसन्न हुने अनि परिवारमा खुसी बढ्ने राम्रो प्रभाव पर्छ भन्ने मान्यता छ । हरियो रङ भगवान् शिवको मन पर्ने रङ हो । त्यस्तै यो महिनामा रातो, पहेँलो रङ पनि धेरै लगाइन्छ । रातो रङलाई खुसी र सौभाग्यको प्रतीक मानिने भएकाले साउनमा यो रङ लगाउँदा दैनिक जीवनमा पनि सोच, विचार र कार्यमा सकारात्मक प्रभाव पर्छ बढ्ने विश्वास गरिन्छ । हरेक रङको आआफ्नै मनोविज्ञान छ । रङहरूको मानवजीवन र मनसँगको सकारात्मक अनि नकारात्मक भावहरू छन् । 

त्यसैले आफ्नो राशिअनुसार हामी रङहरूको प्रयोग गर्ने गर्छौं । 

भाइबहिनीहरू हामीले जस्तो रङको लुगा लगाए पनि हाम्रो मन, वचन अनि गर्ने काम भने सधैँ राम्रो हुनुपर्छ । सकारात्मक भावले गरिएका कामको नतिजा पनि राम्रो आउने गर्छ ।