• ८ साउन २०८१, मङ्गलबार

विसङ्गति औँल्याइएका पुष्पगुच्छा

blog

‘रोजा’ अर्थात् रोज्न लायक, धेरै राम्रो । साहित्यकार किशोर पहाडीको ‘रोजा कथाहरू’मा सामाजिक परिवेश प्रतिविम्बित छ । यस सङ्ग्रहका कथाहरूले नेपाली साहित्यमा भिन्न भिन्न स्वाद पस्किएर कौतूहल जगाउन सफल भएको छ । रोजा कथाहरू सन्देशमूलक पनि छन् । 

कहीँ कतै नलुकाइ भनुँ भने यो सङ्ग्रहभित्रका कथा निकै परिस्कृत छन् । सरल गरी बुझ्न नसकिने तर कथाको पृष्ठभूमिमा बसेर हृदयको भावले बुझिने खालका माझिएका कथामध्येको एक सङ्ग्रह हो ‘रोजा कथाहरू’ । प्रत्येक कथाहरूमा भिन्न भिन्न चरित्र, यात्रा र आवेगहरूमा किरणले झरीपछिको सुन्दर यात्रा गरेझैँ पुस्तकमा घोत्लिँदा पाठक स्वयं विभिन्न चरित्रको यात्रामा यात्रारत रहेको महसुस गर्न पुग्छन् । समाजको मनोदशा, मान्छे मान्छेले गर्ने व्यवहार प्रेम, स्वार्थ, छलकपट र कठोर निर्णयलाई छर्लङ्ग उतार्न सफल हुनुभएको छ कथाकार । 

सानोमा आमा, हजुरआमाले सुनाएका कथाले बालमस्तिष्कमा जुन तरङ्ग ल्याएर आनन्दको अनुभूत गर्दै नशाले लठ्याएझैँ बालक लठ्ठिन पुग्छ, त्यसैगरी ‘रोजा कथाहरू’ पढ्दै गर्दा पाठक पनि सामाजिक मनोदशा, पारिवारिक प्रेम, ईष्र्या, द्वन्द्वमा रुझ्न पुग्छ । पाठक एकपछि अर्को कथामा पुगेर कथा सुन्न आतुर बन्छ ।

वास्तवमा समयका बहावहरूमा कहिले डुब्नु कहिले उत्रनु मानव जीवनको यथार्थ हो । सानो छँदा आमाहरूले सुनाउने कथा काल्पनिक हुन्थे तर रोजा कथाहरू सत्यतथ्यको आड लागेर बोलेको छ । कथाहरूमा कहीँ देश बोलिरहेको छ । कहीँ भावना बोलिरहेको छ । कहीँ प्रेम बोलिरहेको छ । कहीँ मान्छेका आनीबानीहरू बोलिरहेका छन् । कथाहरू पढ्ने क्रममा ‘प्रतिनिधि र प्रतिनिधिहरू’ कथा वास्तविक लाग्यो । देशका प्रतिनिधि तपाईं हामी जो तीन थरिमा विभाजित छौँ । एकथरि पसिना बेचेर खाने, अर्काथरि इमान बेचेर खाने र अर्काथरि मिठा बदख्वाइँ गरेर खाने यस्तो किसिमको तथ्य बोकेको छ यो कथाले ।

अर्को कथा ‘सर्वज्ञ र सेक्स’ को उचाइ मापन गर्न कठिन छ । एउटा साहित्यकार कलमद्वारा भावना र इच्छासँग कसरी खेल्न सक्छ, अनि ऊ कसरी राज गर्न सक्छ, मान्छे मान्छेको मस्तिष्कभित्र भन्ने यो कथाले प्रस्ट बुझाउँछ । यौनिक दृश्यलाई एउटा साहित्यकारले कति नम्र भावले त्यही ठाउँसम्म पु¥याउन सक्छ भन्ने उदाहरण हो यो कथा । कथा ‘सिम्फोनी’ मा प्रत्येक मान्छेभित्र एक किसिमको ध्वनि तरङ्गित भइरहेको हुन्छ । जुन ध्वनि उसको जीवनको निकटतालाई छोएर पलपल हिँडिरहेको हुन्छ । जब मान्छे पीडाको आहालमा डुबिरहेको हुन्छ, त्यो बेला स्वयंलाई छोएर बज्ने सिम्फोनी धुन उसको सत्य धुन हुन्छ ।

वास्तवमा किशोर पहाडी यो समाजको अन्तर हृदय छिचोल्न सफल हुनुहुन्छ । दूरदराजका भग्नमनोवृत्ति, विसङ्गति, लैङ्गिक विभेद र कृत्रिम जीवनशैलीलाई अत्यन्तै संवेदनशील भएर पाठकका आँखामा पु¥याउन उहाँ सफल हुनुहुन्छ । उहाँ कलात्मक तरिकाले पाठकलाई डो¥याउन पछि पर्नु भएको छैन । जहाँ आफू पुग्नु हुन्छ, त्यहाँ पाठकलाई पु¥याएर कथाका पुष्पगुच्छाहरू थमाउनु हुन्छ । ‘डोरी’ कथा पढ्दा मज्जाले हाँसो उठ्छ । कथामार्पmत पाठकलाई फन्फनी बेरिदिनु भएको छ कथाकारले । यो कथामा डोरी सस्तो वस्तु हुन्छ तर मानिसको लोभले गर्दा उसले आफ्नो लाजलाई पनि सुरक्षित गर्न सक्दैनन् । यसका कथा पढ्दा कहीँ रुवाउँछ, कहीँ मज्जाले हसाउँछ, कहीँ देशप्रेमले ओतप्रोत भएर पाठक आफू नै युद्धको मैदानमा होमिन पुग्छ । एउटा मानिसले जन्मदेखि मृत्युसम्म केके भोग्छ, ती सबै भोगाइ कथामा उतार्न सफल हुनुभएको छ कथाकार । समग्रमा कथा उत्कृष्ट छ्न् तर कथा पृष्ठभूमिमा बसेर बोलेकाले तुरुन्तै बुझिँदैन । खासगरी कथा सबैले बुझ्ने गरी सरल भाषामा लेखिनु पर्छ । यो कुराको हेक्का राख्न कथाकारले अलिक सक्नु भएन कि झैँ लाग्यो । सरल भाषामा लेखिएको भए सबै किसिमका पाठकले सजिलै बुझ्न सक्थे । यस सङ्ग्रहमा एकतीस वटा कथा छन् । शिखा बुक्सले प्रकाशन गरेको यो कथा सङ्ग्रहको मूल्य भने ३५०/– रुपियाँ रहेको छ ।