• ७ वैशाख २०८१, शुक्रबार

ज्येष्ठ नागरिकका लागि घरघरमा स्वास्थ्यकर्मी

blog

म्याग्दी समाचारदाता

म्याग्दी, साउन २८ गते ।  सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि घरघरमा स्वास्थ्यकर्मी पुग्न थालेका छन्। म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण एवं उपचार गर्ने उद्देश्यले घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सुरु गरेको हो।

घरदैलोमै पुगेर ज्येष्ठजनको स्वास्थ्य उपचारसम्बन्धी सेवा उपलब्ध गराउन कार्यक्रम लागू गरी सञ्चालनमा ल्याइएको बेनी नगरपालिकाले जनाएको छ। बेनी नगरपालिकाभित्रका १० वटै वडाका घरघरमा पुगेर ज्येष्ठजनको तथ्याङ्क सङ्कलन, रक्तचाप चेकजाँच, स्वास्थ्य परामर्श र सामान्य औषधि वितरणका लागि कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ।

अहिले नगरपालिकाभित्रका प्रत्येक घरमा स्वास्थ्यकर्मी पुगेर पहिलो चरणमा तथ्याङ्क सङ्कलन, दीर्घरोगी पहिचान, उनीहरूको स्वास्थ्य अवस्था पत्ता लगाउने र कुन–कुन औषधि सेवन गर्छन्, त्यसका बारेमा समेत जानकारी लिइने बेनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख लीला गौतमले जानकारी दिनुभयो। चालू आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रम नगरपालिकाले अभियानकै रूपमा सञ्चालन गर्ने गौतमको भनाइ छ।

बेनी नगरप्रमुख सुरत केसीले ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गरी घरदैलोमै औषधोपचार तथा परामर्श उपलब्ध गराउने कार्यक्रम कार्यान्वयनको चरणमा अगाडि बढाइएको बताउनुभयो। बेनी बजारभित्र पर्ने वडा नम्बर ७ र ८ का बासिन्दाले बेनी अस्पतालबाट सेवा लिने गरेका छन्। वडा नम्बर ६ मा स्वास्थ्यकर्मीको जनशक्ति नभएकाले केही दिनमा घरदैलोमा खटाउने नगरपालिकाको योजना छ। ठूला वडामा एक हप्ता र साना वडामा तीनदेखि चार दिनभित्र ज्येष्ठ नागरिकको लगत सङ्कलन गरिसक्ने लक्ष्य रहेको नगरप्रमुख केसीले बताउनुभयो। स्वास्थ्य कार्यालय म्याग्दीका निमित्तप्रमुख एकनारायण लम्सालले कार्यक्रम निकै प्रभावकारी हुने अपेक्षा गरेको बताउनुभयो। लम्सालले भन्नुभयो, “ग्रामीण भेकमा स्वास्थ्य समस्या भए पनि स्वास्थ्य संस्थासम्म नगएर लुकाएरै बस्नेसम्मको अवस्था रहेकाले स्वास्थ्यकर्मी नै घरमा पुगेर परीक्षण गर्दा नागरिकले प्रभावकारी सुविधा पाउँछन्।”

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक र त्यसको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने उल्लेख छ। त्यस्तै उपधारा २ मा आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने भन्ने उल्लेख भए पनि ग्रामीण भेकका नागरिक यस्तो सुविधाबाट वञ्चितजस्तै भएको अवस्थामा नगरपालिकाले गरेको कार्य जनस्वास्थ्यका हिसाबले निकै फलदायी हुने लम्सालको भनाइ छ।

ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य अवस्था, समस्या, प्रयोग गरेको औषधिका विषयमा समेत विवरण सङ्कलन गर्ने स्वास्थ्यकर्मीले परामर्श सेवा पनि दिइरहेका छन्। स्वास्थ्यकर्मी घरदैलोमा गएको पहिलो दिनमै लुकाएका स्वास्थ्य समस्या पहिचान भएको छ। वडा नम्बर–५, पुलाचौरमा दुर्घटनामा परेर घाइते भएकी एक वृद्धाको खुट्टामा राखिएको स्टिल नझिकिएका कारण घाउ भएको अवस्थामा भेट्टाइएको छ। ती वृद्धालाई पोखरामा थप उपचारको व्यवस्था मिलाइने नगरप्रमुख केसीले बताउनुभयो। ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी कार्यक्रमका लागि बेनी नगरपालिकाले यस वर्ष १० लाख रुपियाँ बजेट विनियोजन गरेको छ।

ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, हरेक महिनाको १५ गते स्वास्थ्यसंस्थामा ४५ वर्षदेखि माथिका नागरिकका लागि नसर्ने रोगको स्वास्थ्य शिविर सञ्चालन र विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने बेनी नगरपालिकाले जनाएको छ।