• ६ साउन २०८१, आइतबार

कर्जा बढ्दै, निक्षेप घट्दै

blog

काठमाडौँ, साउन २८ गते । नयाँ आर्थिक वर्ष सुरु भएदेखि निरन्तर घट्दो क्रममा रहेको निक्षेप सङ्कलनमा सुधार आउन सकेको छैन । साउन महिना लागेपछि वाणिज्य बैङ्कको निक्षेप सङ्कलनमा झनै सुस्तता आएको हो ।

वाणिज्य बैङ्कहरुको छाता संस्था नेपाल बैङ्कर्स एसोसिएसनका अनुसार पछिल्लो दुई सातामा वाणिज्य बैङ्कहरूको निक्षेप ३२ अर्ब रुपियाँले घटेको छ । साउन ६ देखि २० गतेसम्म बैङ्कको निक्षेप ३२ अर्ब रुपियाँले घटेको हो ।

एसोसिएसनका अनुसार साउन ६ गतेसम्म ४४ खर्ब ७८ करोड रुपियाँ रहेको बैङ्कको निक्षेप साउन २० गते आइपुग्दा ४४ खर्ब ४६ अर्ब रुपियाँमा सीमित भएको छ । साउन १३ गतेसम्म यस्तो निक्षेप ४४ खर्ब ५० अर्ब रुपियाँ थियो ।

नबिल र एनबी बैङ्क मर्जरपछि २६ वटामा झरेका वाणिज्य बैङ्कले साउन ६ गतेदेखि २० गतेसम्म एक अर्ब रुपियाँ कर्जा प्रवाह गरेका छन् । असार महिनामा कर्जासमेत घटेको बैङ्कमा पछिल्लो दुई सातामा एक अर्बले कर्जा बढेको हो । असार मसान्तदेखि साउन २० गतेसम्मको अवधिमा भने १४ अर्ब रुपियाँले कर्जा घटेको छ ।

निक्षेप तान्न आकर्षक योजना

यद्यपी निक्षेप आकर्षित गर्न पछिल्लो समय बैङ्कहरूले मुद्दती बचत नयाँ योजना सार्वजनिक गरिरहेका छन् । आकर्षक योजना ल्याएर निक्षेपकर्तालाई आकर्षित बनाउन अधिकांश वाणिज्य बैङ्क तथा विकास बैङ्कले मुद्दती योजना धमाधम घोषणा गरिरहेका ल्याएका हुन् । बैङ्किङ प्रणालीमा तरलताको अभाव भइरहेका बेला वाणिज्य र विकास बैङ्कले आकर्षक बचत खाता योजना सार्वजनिक गरिरहँदा बैङ्कहरूको निक्षेप सङ्कलन सुधारिने अपेक्षा गरिएको छ ।

सर्वसाधारणबाट निक्षेप तान्नकै लागि उच्च ब्याज तथा आकर्षक योजनासहित बचत खाता योजना सार्वजनिक गरिरहेका बैङ्कहरूले १० गुणासम्म निक्षेप बढ्ने योजना ल्याएका छन् । मुद्दती योजना ल्याउने दौडमा सरकारी स्वामित्वका वाणिज्य बैङ्कदेखि निजी क्षेत्रका र विकास बैङ्कले योजना सार्वजनिक गरिरहेका छन् । 

ब्याजदर नबढ्ने

वाणिज्य बैङ्कहरूले भदौ महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेका छन् । एसोसिएसनले हालकै ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । बैङ्कहरूले विगत पाँच महिनादेखि व्यक्तिगततर्फ यही अधिकतम ११.०३ प्रतिशत ब्याजदरलाई निरन्तरता दिइरहेका छन् । ब्याजदर बढाएर मात्र निक्षेप नबढ्ने स्पष्ट भएको भन्दै बैङ्कहरू थप ब्याज वृद्धि नगर्ने निष्कर्षमा पुगेका हुन् । एसोसिएसनको यो निर्णयसँगै अब संस्थागत निक्षेपको ब्याजदर थप सस्तो हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले व्यक्तिगत निक्षेपको भन्दा २ प्रतिशतले संस्थागतको ब्याजदर सस्तो हुनुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैङ्कको व्यवस्थाका आधारमा अब संस्थागतको ब्याजदर घट्ने भएको हो । यसअघि यस्तो अन्तर १ प्रतिशत मात्र थियो । साधारण मुद्दती निक्षेपको अधिकतम ब्याजदर ११.०३ प्रतिशत रहेको छ । व्यक्तिगतभन्दा २ प्रतिशतले कम हुनुपर्ने भएपछि अब संस्थागतले ९.०३ प्रतिशत मात्र ब्याज पाउने भएका छन् ।