• ११ मंसिर २०८१, मङ्गलबार

गोसाइँकुण्डमा स्नान गर्नेको घुइँचो

blog

रसुवा समाचारदाता

रसुवा, साउन २८ गते  ।   प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्ड पुगेर श्रावण शुक्ल पूर्णिमा (जनैपूर्णिमा) का दिन भक्तजनले कुण्डमा स्नान गरेर यज्ञोपवित्र धारण गरेका छन्। समुद्री सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको कुण्डमा शुक्रबार स्नान गर्न श्रद्धालुको घुइँचो लागेको थियो।

नागपञ्चमीको दिनदेखि साउन शुक्ल पूर्णिमाको दिनसम्म गोसाइँकुण्ड स्नानका लागि भक्तजन रसुवाको गोसाइँकुण्ड गाउँपालिका –५ मा अवस्थित गोसाइँकुण्डमा आउने गर्छन् । हरेक वर्ष कुण्डमा मेला भर्न स्थानीयवासीसँगै काभ्रे, गोरखा, चितवन, नवलपरासी, काठमाडौँलगायत देश विदेशबाट विभिन्न धर्मावलम्बी पुग्ने गरेका छन्।

यस पटक कुण्ड स्नान गर्न १० हजारभन्दा बढी भक्तजन आएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले जानकारी दिनुभयो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, लाङटाङ राष्ट्रिय निकुञ्जलगायत स्थानीय समिति तथा युवाले तीर्थयात्रीको व्यवस्थापनमा सहयोग गरेका थिए। 

गोसाइँकुण्ड र च्योलाङपाटीमा अस्थायी क्याम्प खडा गरी मोबाइल–स्वास्थ्य टिम बनाई भक्तजनलाई सहजीकरण तथा उच्च हिमाली क्षेत्रमा आउने समस्याबारे सतर्कता अपनाउन आग्रहसहित स्वयंसेवक परिचालन गरिएको थियो। पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानव भएर समुद्र मन्थन गर्दा समुद्रबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आएर गोसाइँबाबा (भगवान् शिव)ले आफ्नो हातमा भएको त्रिशूल भित्तामा गाड्दा भित्ताबाट गङ्गाजल अर्थात् त्रिशूलधाराको उत्पति भई उक्त धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंवदन्ती पाइन्छ। 

प्रत्येक वर्ष गङ्गादसहरा र जनैपूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने गर्छ। कुण्डमा स्नान गरी गोसाइँबाबाको दर्शन गर्नाले जीवनमा गरेको जान–अन्जान पापबाट मुक्ति पाउने, पितृ तर्ने र आफूले चिताएका सबै मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि कुण्डमा स्नान गर्न आउनेको भीड लाग्ने गरेको छ। 

मेलामा विभिन्न गीत सङ्गीत, झाँक्री नाच तथा मनोरञ्जनपूर्ण गतिविधिका साथ कुण्डको दर्शन गर्न आउने परम्परा रहिआएको छ। जैविक विविधताले भरिपूर्ण गोसाइँकुण्डलगायत वरपरका अन्य कुण्डलाई २०६४ साल असोज ६ गते रामसार साइटमा सूचीकृत गरिएको छ। गोसाइँकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्ड, नौकुण्डलगायत करिब १०८ वटा कुण्ड रहेको बताइन्छ।