• १४ वैशाख २०८१, शुक्रबार

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी

blog

काठमाडौं, साउन २६ गते । पाँच दलीय सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । नेपाली कांग्रेसका महामन्त्री एवम् कार्यदलका सदस्य गगनकुमार थापाका स्वकीय सचिव शैलेस सिटौलाले बैठक केही समय अघिदेखि जारी रहेको जानकारी दिनुभयो ।

कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएका कार्यदलको बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भइसकेको अवस्थामा सिट बाँडफाँटबारे बैठकमा छलफल भइरहेको जनाइएको छ ।

गठबन्धनको ११ सदस्यीय कार्यदलका कांग्रेसका तर्फबाट थापा, सिटौला र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट वेदुराम भुषाल र प्रमेश हमाल, जनता समाजवादीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ हुनुहुन्छ । राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा हुनुहुन्छ ।