• १७ चैत २०८२, मङ्गलबार

लागुऔषध सेवन गरेर सवारी चलाउने चार चालक पक्राउ

blog

अर्जुन काफ्ले
स्याङ्जा, चैत १७ गते ।
लागुऔषध सेवन गरेर सवारीसाधन चलाइरहेका चार चालकलाई स्याङ्जामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित गरिएको सवारी चेकजाँचका क्रममा बोलेरो जिप चालक भिमाद नगरपालिका–२, तनहुँका २७ वर्षीय मोहन थापा, मोटरसाइकल चालक तानसेन नगरपालिका–२, पाल्पाका २० वर्षीय विपिन कुँवर, भीरकोट नगरपालिका–१, स्याङ्जाका २० वर्षीय प्रमिस केसी तथा ‘आइस’ चालक पोखरा महानगरपालिका–११, कास्कीका ४३ वर्षीय रिकेश परियारलाई पक्राउ गरिएको हो ।

पुतलीबजार नगरपालिका–१, सिद्धार्थ राजमार्गस्थित बसपार्क क्षेत्रमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको संयुक्त टोलीले सवारी चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

निजी तथा सार्वजनिक सवारीसाधनमा गरिएको लागुऔषध परीक्षणमा चारै जनाले लागूऔषध सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । चेकजाँचका क्रममा थापा र कुँवरबाट पाँच–पाँच ग्राम गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ ।