• १७ चैत २०८२, मङ्गलबार

मल्चिङ प्रविधि सिक्दै घोराहीका किसान

blog

मल्चिङ प्रविधि सिक्दै किसानहरू । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
घोराही, चैत १७ गते ।
घोराही उपमहानगरपालिका–६, पक्वैकीकी कुमारी चौधरी विगत लामो समयदेखि परम्परागत शैलीमा तरकारी खेती गर्दै आउनुभएको छ । व्यावसायिक रूपमा तरकारी खेती गर्दै आए पनि उहाँले अहिलेसम्म मल्चिङ प्रविधिको प्रयोग गर्नुभएको थिएन ।

उहाँमात्र होइन, सोही गाउँकी बसन्ती चौधरीले पनि परम्परागत शैलीमै तरकारी खेती गर्दै आउनुभएको छ । अन्य गाउँहरूमा मल्चिङ प्रविधिमार्फत तरकारी खेती भइरहेको देखे पनि आफूहरूले यससम्बन्धी तालिम नलिएको उहाँहरूले बताउनुभयो ।

यद्यपि, कुमारी र बसन्तीले आइतबार र सोमबार सञ्चालन भएको मल्चिङ प्रविधिसम्बन्धी तालिममा सहभागिता जनाउनुभएको छ । उक्त तालिमबाट तरकारी खेतीलाई थप व्यवस्थित, उत्पादनमुखी तथा जलवायुमैत्री बनाउन आवश्यक ज्ञान प्राप्त भएको उहाँहरूको भनाइ छ ।

घोराही उपमहानगरपालिकाको सहकार्यमा आर्क नेपालले वडा नं। ६ र ७ का किसानलाई जलवायु मैत्री कृषि परियोजना अन्तर्गत दुईदिने मल्चिङ प्रविधि तालिम प्रदान गरेको हो । जलवायु परिवर्तनका असरलाई मध्यनजर गर्दै किसानलाई आधुनिक तथा वातावरणमैत्री खेती प्रविधिसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएपछि स्थानीय किसान उत्साहित भएका छन् ।

कुमारी र बसन्तीसँगै घोराही–७, डबर गाउँका कल्विर चौधरी पनि तालिममा सहभागी हुनुभएको छ । उहाँले तालिममा मल्चिङ प्रविधिमार्फत तरकारी खेती गर्ने व्यावहारिक तथा प्राविधिक ज्ञान दिइएको बताउनुभयो ।

मल्चिङ प्रविधि तालिममा वडा नं. ६ मा ३० जना र वडा नं. ७ मा ३० जना गरी कुल ६० जना किसान सहभागी भएको आर्क नेपालका सहजकर्ता सुभेक्षा चौधरीले बताउनुभयो । दुईदिने तालिमको सहजीकरण जेटिए रमेश चौधरीले गर्नुभएको थियो ।

तालिममा मल्चिङ प्रविधिमार्फत तरकारी रोप्ने तरिका, गोडमेल गर्ने विधि, बीउ राख्ने तरिका, विषादी तथा औषधिको सुरक्षित प्रयोग, जैविक मलको उपयुक्त प्रयोगलगायत विषयमा प्रशिक्षण दिइएको थियो । मल्चिङ प्रविधिले उत्पादन वृद्धि गर्नुका साथै माटोको चिस्यान कायम राख्न, झारपात नियन्त्रण गर्न तथा श्रम र लागत घटाउन सहयोग गर्ने प्रशिक्षकहरूले बताएका छन् ।

यस्तै, तालिममा जलवायु संकट र त्यसले कृषि क्षेत्रमा पारिरहेको प्रभावबारे सैद्धान्तिक छलफलसमेत गरिएको आर्क नेपालकी विभिषिका चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार बदलिँदो मौसम, अनियमित वर्षा, तापक्रम वृद्धि र त्यसले खेती प्रणालीमा पारेको असरबारे किसानलाई सचेत बनाइएको थियो ।

मल्चिङ प्रविधि तालिमले किसानलाई आधुनिक कृषि प्रविधितर्फ आकर्षित गर्नुका साथै दिगो कृषि प्रणाली विकासमा टेवा पुग्ने अपेक्षा गरिएको घोराही उपमहानगरपालिका–७ का वडा अध्यक्ष खोपिराम चौधरीले बताउनुभयो ।